काठमाडौं – जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । 

विश्वव्यापी रूपमा जलवायु परिवर्तनका प्रत्यक्ष एवं अप्रत्यक्ष असर बढ्दै गएकोले जलवायु परिवर्तन एउटा जटिल समस्याको रूपमा देखापरेको छ । यो समस्या समाधान गर्नका लागि संसारभर नै मानिसहरु लागि परिरहेका छन् । नेपालमा पनि जलवायु परिवर्तन र यसले हाम्रो वातावरण, समाज र अर्थतन्त्रमा पारेका प्रभाव तथा समाधानका लागि के गर्न सकिएला भन्ने विषयमा छलफलहरु नभएका होइनन् । तर त्यस्ता छलफललाई सार्थक बनाउनको लागि आवश्यक पर्ने तथ्य, प्रमाण तथा विष्लेषणहरु पर्याप्त छैनन्। स्थानीयस्तरमा जलवायु परिवर्तनका असरबारे अध्ययनहरुको कमी छ । 

साथै विगतमा भएका घटना पनि लिपिबद्ध भएका छैनन् र भएका अध्ययन अनुसन्धानका नतिजा पनि सहज रूपमा उपलब्ध छैनन् । उपलब्ध हुने अध्ययन सामग्रीहरु पनि प्रायः अंग्रेजीमा तयार गरिने हुनाले समुदायस्तरसम्म पु¥याउन सकिएको छैन । यसकारण जलवायु परिवर्तनका वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा परेका प्रभावको अध्ययन अनुसन्धान गर्न र त्यसमा जनस्तरको पहुँच स्थापना गर्न अत्यावश्यक भएको छ ।

जलवायु परिवर्तन एक विश्वव्यापी समस्या हो, जसबाट नेपाल पनि अछुतो छैन । समग्र विकास प्रक्रियामा पछाडि परेको, कमजोर भौगर्भिक बनावट, हिमालयबाट निःसृत नदी प्रणाली तथा यिनै नदीमा आश्रित कृषिक्षेत्र र कृषिमै आधारित जीविकोपार्जनले गर्दा नेपाल जलवायु परिवर्तनको असरबाट निकै बढी प्रभावित हुन पुगेको छ । वैज्ञानिकहरुका अनुसार अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढी परिरहेको छ । यसले गर्दा हिमालयको सेरोफेरोमा बसोबास गर्ने करिब दुई अरब जन्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

नेपाल जलवायु परिवर्तनमा विश्वमै चौथो र भूकम्पीय जोखिममा एघारौं स्थानमा छ । वर्षा सुरु भएसँगै अनेक खाले विपद् निम्तिन्छन् । गृह मन्त्रालयको विपद् महाशाखामा दैनिक करिब ३ हजार प्राकृतिक तथा मानव सृजित घटना दर्ता हुन्छन् । ८० प्रतिशत जनसंख्या कुनै न कुनै विपद्को जोखिममा छन् । मनसुनका कारण वर्षामा बाढी, पहिरो, डुबानले हैरान बनाउँछ । हिउँदमा शीतलहर र चिसोले समस्या निम्त्याउँछ । आकस्मिक रूपमा हुने आगलागी, सर्पदंश, भूकम्प, महामारीजन्य घटनाले पनि विपद् सृजना गर्छन् । विडम्बना, प्रभावितलाई जोगाउन होस् वा विपद पश्चात् उद्धार र पुनःस्थापनामा, लैंगिकता र समावेशितालाई खासै ध्यान दिएको पाइँदैन ।

प्राकृतिक विपदमा बालबालिका, गर्भवती वा सुत्केरी महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसंख्यक, विपन्न र भौगोलिक विकटका व्यक्ति बढी पर्छन् । सामाजिक संरचना लैंगिक र समावेशी नहुने एवं समुदायमा फरक भूमिका हुँदा उनीहरू बढी प्रभावित भएका हुन्छन्। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमका अनुसार, विश्वमा प्राकृतिक विपद्बाट ज्यान गुमाउनेमध्ये ८९ प्रतिशत महिलाहरु रहेका छन् । जलवायु जन्य विपद्बाट विस्थापित हुनेमध्ये पनि ८० प्रतिशत महिलाहरु नै छन्रु। विपद् बढाउन महिला वा बालिबालिकाको खासै भूमिका हुँदैन, तर असर उनीहरूमै बढी छ । कुनै पनि बस्तीमा विपद् आउँदा विपद्पूर्वको अवस्था, विपद्को समय र त्यसपछिका तीनै अवस्थामा महिला, बालबालिका र अपांगता भएका व्यक्ति जोखिममा पर्छन् । विपद्को अवस्थामा पुरुषका तुलनामा महिला आफूसहित परिवार र बालबालिकालाई बचाउने प्रयासमा लाग्दा पनि जोखिममा बढी पर्छन् । विपद्बाट बच्न गरिने पूर्वतयारी, ज्ञान र सीपको अभावले पनि महिलासँगै बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति प्रभावित   हुन्छन् ।

विपद्बाट बचाउन पूर्वसूचना प्रणाली कार्यान्वयनमा छन् तर लैंगिक र समावेशी छैनन। पूर्वसूचना प्रणाली र विपद्पूर्वको उद्धार सम्बन्धी धेरै जानकारी र निर्णय प्रक्रियाहरू पुरुषको नियन्त्रणमा छन् । उद्धार प्रक्रिया र व्यवस्थापन लैंगिकमैत्री नहुनाले पनि महिला, बालबालिका र अल्पसंख्यकको बढी क्षति हुने गरको छ । उद्धारका लागि गरिने पूर्वाभ्यास, उद्धार कार्यदल, प्राथमिक उपचारजस्ता तालिम र समूहमा लैंगिक संवेदनशीलतामा पाइलैपिच्छे चुनौती छ । महिलालाई प्रजनन भूमिकाले पनि विपद्को जोखिममा पु¥याएको छ । विपद्को असर विपद्पूर्वको अवस्थाले निर्धारण गर्छ । जस्तो कि, २०७२ को भूकम्प र त्यसपछिका ठूला परकम्पहरूमा गर्भावस्था, सुत्केरी वा नवजात शिशु र आमाहरू बढी जोखिममा परे । सामान्यतया, जलवायु परिवर्तनभन्दा प्राकृतिक विपद्को असर महिलालाई धेरै पर्छ । सवारी दुर्घटनामा भने महिलाभन्दा धेरै पुरुषको मृत्यु भएको छ । विपद्पछिको अवस्था र उद्धारमा सबैभन्दा अप्ठ्यारो परिस्थितिबाट महिलाहरू गुज्रनुपर्ने भएकाले विपद्का असरबारे मृतकको संख्या मात्र गणना गरेर पनि पुग्दैन ।

विपद्पछिका अवस्थामा दिइने आश्रय, यातायात र खाद्यान्न लगायतमा पनि महिला एवं बालबालिका र ज्येष्ठ नागरिकको पहुँच देखिँदैन । यसले गर्दा उनीहरूमाथिको जोखिम घटाउन सकिएको छैन । विपद्ले कतिपय बालबालिका अभिभावकविहीन हुन्छन् । परिणामस्वरूप उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा लगायतमा असर पर्छ । त्यसले बालबालिका बेचबिखन, ओसारपसार, शोषण, यौन दुर्व्यवहारका घटनाहरू बढ्छन् । कतिपय बालबालिका श्रम शोषणमा परी निकृष्ट श्रम गर्न बाध्य हुन्छन् । उद्धारपछि राखिएका शिविरहरूमा महिला, बालबालिका, अपांगता भएका व्यक्तिमाथि यौनहिंसा भएका थुप्रै उदाहरण छन् । हिंसापछि पनि त्यस्तो जोखिम घटाउन र असर कम गर्न उचित योजना र लगानी देखिँदैन । साबिकमा रहेका जिल्लास्तरका महिला तथा बालबालिका कार्यालयको विस्थापनपछि विपद् लगायत जोखिममा पर्ने वर्ग र समुदायलाई संरक्षण गर्ने प्रभावकारी संयन्त्र बन्न सकेको छैन ।

विपदमा काम गर्न तीन तहकै सरकारका एकल तथा साझा अधिकार छन्  तर, आफ्नो क्षेत्रका महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता लगायत जोखिममा पर्ने वर्गहरू, गरिबीको रेखामुनि रहेका परिवार र भूमिहीनको छुट्टाछुट्टै खण्डीकृत तथ्यांकको अभाव छ । यसले गर्दा व्यवस्थापनमा समस्या देखिन्छ ।विपद्को समयमा हुने हिंसा, शोषण र दुर्व्यवहारका घटनाबाट बचाउन प्रभावितलाई संरक्षण र सुरक्षा प्रदान गर्नु र आपत्कालीन अवस्थामा आवश्यक सेवा–सुविधाहरू उपलब्ध गराउनु संरक्षण हो । विपद् व्यवस्थापनका लागि राष्ट्रिय रणनीति, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, जलवायु परिवर्तन नीति लगायत छन् । तिनमा केही लैंगिक दृष्टिकोण भए पनि कार्यान्वयन फितलो छ । प्रभावितको संरक्षणको सवाल अत्यावश्यक सेवामा नराख्दा कतिपय प्रभावितले त्यस्तो सेवा लिन पाएका छैनन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिमा विपद्को असर कम गर्न उनीहरू केन्द्रित योजना र लगानी हुनुपर्छ । विपद् प्रभावितका लागि लैंगिक सुरक्षा, गोपनीयता, सम्मान र स्वनिर्णयका सिद्धान्तहरूको पालना गर्नुपर्छ । स्थानीयस्तरका विपद् व्यवस्थापन समिति र पूर्वतयारीका काममा प्रभावितको सहभागिता र आवश्यकता समेटिनुपर्छ । राहत प्याकेजमा बालबालिका र ज्येष्ठ नागरिकलाई खानेकुरा, सुत्केरी र नवजात शिशुलाई न्यानो लुगा, अपांगता भएका व्यक्तिलाई सहायक सामग्री, किशोरीहरूका लागि स्यानिटरी प्याडको व्यवस्था हुनुपर्छ । बहिष्करणमा परेका समुदायलाई विपद्पछि थप बहिष्करणमा पर्न नदिन गोपनीयतासहितको सेवा, सुरक्षा एवं गुनासो र सुझाव सुनुवाइ प्रणाली बनाउनुपर्छ । 

विपद् प्रतिकार्य र पुनःस्थापनाका संरचनाहरूमा समावेशी नेतृत्व हुनुपर्छ । विपद्पश्चात्का अस्थायी संरचना महिला, बालबालिका,अपांगतामैत्री बनाउनुपर्छरु। विपद्को अवस्था र त्यसपछि हुन सक्ने यौन हिंसा, शोषण र बेचबिखनको जोखिम घटाउन त्यस क्षेत्रमा अपरिचित व्यक्तिको निगरानी राख्ने, जोखिमबारे सचेतना फैलाउने, निगरानी समूह बनाउने र देखिएका समस्याको तत्काल सम्बोधन गर्नुपर्छ । लैंगिक संवेदनशीलताप्रतिको सामूहिक जवाफदेहीले मात्र समाजका हरेक लिंग, वर्ग, उमेर र समुदायका व्यक्तिलाई सम्मानपूर्वक बाँच्न सघाउँछ । यसले मात्रै विपद् घटाउन र विपद्सँग जुध्न सक्ने बनाउँछ ।

कुनै पनि कारणले विपद् उत्पन्न गर्न सक्ने वा विपद् हुन सक्ने सम्भावना भएको अवस्थालाई प्रकोप भनिन्छ । जस्तै, एउटा भिरालो डाँडोको टुप्पामा एउटा ठुलो चट्टान छ । त्यो जुनसुकै बेलामा खस्न सक्छ । यदि त्यो चट्टान खसिहाल्यो भने त्यसको बाटोमा पर्ने सबै कुराहरू तहसनहस हुन्छ । यस्तो अवस्थालाई नै प्रकोप भनिन्छ । प्रकोपको घटनाबाट हानि नोक्सानी वा क्षति हुन सक्ने अवस्थालाई जोखिम भनिन्छ । प्रकोप र जोखिमको सम्मिश्रणका कारण अपर्झट आइपर्ने प्रतिकूल असर वा क्षति भएको घटना विपद् ९म्ष्कबकतभच० हो । समाज वा समुदायले आफ्नै बलबुता र स्रोतसाधनको प्रयोग गरी सामना गर्न नसक्ने गम्भीर प्रकृतिका प्रकोपजन्य घटना र त्यो घटनाका कारणबाट सामान्य सामाजिक प्रक्रिया अवरुद्ध भई पुग्न जाने मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति नै विपद् हो । यस्तो घटनाको प्रतिकूल प्रभावबाट पार पाउन समुदायको आन्तरिक क्षमताले धान्न नसक्ने अवस्थालाई मात्र विपद् भनिन्छ । अर्को शब्दमा अचानक कुनै अप्रत्यासित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ । 

विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । प्राकृतिक विपद् जस्तैः बाढी, पहिरो, हुरीबतास, भुइँचालो, भोकमरी, महामारी आदि हुन् । यस्तोे स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला, बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ । बाढी पहिरो आएका बेला बगाउने, डुब्ने, मर्ने, आगलागीमा जल विनियोजन र हृदयघात हुने, भुइँचालोमा, दौडादौडमा थिचिएर, च्यापिएर ज्यान जाने भएकाले सतर्क भई बचाउ हुने उपाय अपनाउनुपर्दछ । 

मानवसिर्जित विपद् जस्तै, आगलागी, लडाइँ/युद्ध, हडताल, नाकाबन्दी आदि हुन् । त्यसैगरी मानव सिर्जित र प्राकृतिकसहितको अवस्था पनि हुन सक्छ । आपत्काल अचानक र मन्द खालको हुन्छ। अचानक हुने आपत्काल बाढी, पहिरो, भूकम्प आदि हुन् । मन्द खालको विपद् महामारी, भोकमरी, जलवायु प्रदूषण आदि हुन् । यस्तो स्थितिमा अपराधीहरूले झुटो आशा, लालच देखाइ प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।