काठमाडौं – हजारौँ वर्षदेखि पृथ्वीका मानिसले आकाशबाट तारा झरेको घटना याद गर्दै आएका छन् । तर ती वास्तवमा तारा हाइनन् । तिनलाई उल्कापात भनिन्छ । उल्कापात अन्तरिक्षमा यात्रा गर्ने साना साना ठोस वस्तु हुन् । यिनीहरु पुच्छेतारा टुक्रिएर पैदा हुन्छन् भन्ने वैज्ञानिकको धारणा छ । 

धेरैजसो उल्कापात साह्रै मसिना हुन्छन् र पृथ्वीमा खस्नु अघि नै ध्वस्त भइसक्छन् कुनै कुनै मात्र ठुला हुन्छन् । अहिलेसम्म भेटिएको उल्कामा सबभन्दा ठुलो करिव ७० टन भएको अनुमान गरिन्छ जुन अफ्रिका महादेशमा छ । वैज्ञानिकहरुका अनुसार हरेक दिन र रातमा यस्ता उल्काहरु पृथ्वीमा हजारौँ संख्यामा खस्दछन् । यसरी खस्दा तिनीहरु पृथ्वीको वायुमण्डलमा ठोकिन पुग्छ र घर्षणको फलस्वरुप ताप निस्की बस्दछन् । अनि तारा जस्तै उज्यालो र चहकिलो देखिने हुनाले हामी तिनलाई तारा झरेको भन्दछौँ ।