काठमाडौं – अश्रु ग्याँस वास्तवमा ग्याँस होइन । यसको वास्तविक अवस्था तरल वा ठोस हो जुन ग्याँससित मिसाएर फालिन्छ । यो एक प्रकारको कृत्रिम प्राङ्गारिक ह्यालोजन यौगिक हो ह्यालोजन छिट्टै उडेर जाने र ज्यादै क्रियाशील तत्वहरु जस्तै क्लोरिन, आयोडिन र फ्लोरिनको समूह हो । यी कृत्रिम ह्यालोजन यौगिकहरु आँखामा पर्दा तिनले आँखाको झिल्लीलाई असर पुर्याउँछ । त्यसमा भएका स–साना कणहरुले आँखालाई बिझाउँछ र हामीलाई पिरो भएको महशुस हुन्छ । ती बिझाउने स–साना कणहरु पखालेर पठाउन आँखाबाट खप्नै नसक्ने गरी आँसु बहन्छ । त्यसैले तिनलाई अश्रुग्याँस (टियर ग्यास) भनिएको हो ।
अश्रु ग्याँसलाई Lacrimator (ल्येक्रिम्याटोर) अर्थात् Lacrimal gland (ल्येक्रिमल ग्लान्ड) लाई उत्तेजित पार्ने वस्तु भनिन्छ । भीडलाई तितरवितर पार्न आजभोलि प्रयोग गरिने अश्रु ग्याँसहरु मध्ये सबैभन्दा बढी प्रयोगमा ल्याइएको (alpha chloroacetophenon) हो । यसलाई ग्याँससित मिसाएर छरिन्छ र यो बाक्लो धुवाँजस्तो भएर निस्किन्छ । अश्रु ग्याँसलाई मेस भनिने बन्दुक वा पेस्तोल जस्तो उपकरण प्रयोग गरेर फालिन्छ । यसले एक पटकमा एक–एक सेकेन्डको अन्तरमा ४० पटकसम्म पड्काउन सक्छ । यसरी पड्काइएको ग्याँसको असर ५ मिटर दुरीभित्र बढी हुन्छ । अश्रु ग्याँस रासायनिक हतियारभित्रै पर्दछ । यो घातक त हुँदैन तर यसको असले कहिलेकाहीँ नराम्रोसित खोकी लाग्न सक्छ । अश्रु ग्याँसको असर सफा स्वच्छ हावामा गएपछि केही मिनेटमै आफैँ हराएर जान्छ ।
0 comment