काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा छ ।
साथै समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।
चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
चालु आर्थिक वर्षको ११ महिनामा साँढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह भएको छ। प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत् ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत् २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा २० खर्ब २१ अर्ब ८७ करोड गरी कूल ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो ।
यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्याङ्क हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो ।
राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको हो। समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । यो अवधिसम्ममा ४ अर्ब ३० करोड अमेरिकी डलर बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८२० ऋणीको २ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ ।
११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण भित्रिएको छ । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भइ ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४६.६ प्रतिशतले वृद्धि भइ ४ लाख ५९ हजार ४१५ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भइ २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २०८.३ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भइ १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।
0 comment