काठमाडौं - ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न भएको छ। 

२०७४ सालमा सम्पन्न दोस्रो नगरसभाले गरेको निर्णय अनुसार महानगरका २९ वटै वडाका ६० हजार ९८८ घरलाई मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको हो । अब ललितपुर महानगरमा भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा भयो भने सजिलै पुग्न सकिन्छ। 

“महानगरभित्र एकल बसोबास, संयुक्त आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायत सम्पूर्ण स्थायी तथा अस्थायी संरचनासहित ९१ हजार तीन सय ९९ संरचना तथ्याङ्कमा ‘रेकर्ड’ भएका छन्। स्थायी संरचना भएका घरलाई मात्रै घर नम्बर वितरण गरिएको र अस्थायी संरचना रेकर्डमा मात्रै राखिएको महानगरका भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले जानकारी गराए।

घर नम्बर वितरणसँगै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण गरेर मेट्रिक प्रणालीमा समावेश गरिएको उनले बताए। सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिएको छ। मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको कार्कीले बताए। 

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न भौगोलिक सूचना प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको बताइएको छ। 

महानगर प्रमुख चिरीबाबु महर्जनले यो स्मार्ट सिटीको मुख्य आधारतत्व भएको र यसबाट महानगरले राजस्व उठाउनदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुने बताए। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो प्रणालीलाई व्यवस्थित गर्न र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै आउने समस्या समाधान गर्न महानगरपालिकामा छुट्टै भौगोलिक सूचना प्रणाली (जिआइएस) युनिट स्थापना गर्ने जानकारी दिए। 

महानगरले एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएर २०७७ पुस २३ गते जियोस्पासियल सिस्टम प्रा लि, नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिसँग सम्झौता गरेको थियो। कोरोना महामारीको कारण समयमा काम सम्पन्न हुन नसकेपछि महानगरले ६/६ महिना गरेर एक वर्षको अवधि थपेको थियो।  

-रासस