काठमाडौं – कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा श्रीमान्/श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका– ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिएका छन् ।

वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको थियो सोही कसुरमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डाँगीले जानकारी दिएका छन् ।

बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ । 

बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको बुझिएको छ ।

प्रहरीले दुवै श्रीमान/श्रीमतीलार्ई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।