काठमाडौं - कानुनी व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेपछि कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीचको विवादपछि हात हालहाल भएको घटनामा प्रहरीले लामिछानेलाई पक्राउ गरेपछि कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। ललितपुरमा विरोध सभा गरेका उनीहरुले तामाङको राजीनामा समेत माग गरेका छन्।
नेपाल बार एशोसीयसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले ललितपुर बारमा भ्रष्टाचारी कर्मचारी रहुञ्जेलसम्म सहमति हुन नसक्ने बताए। श्रेष्ठले भने, ‘कानुन व्यवसायीको समस्याको हल गर्ने जिम्मा न्याय प्रशासकको हो। प्रहरीमा ह्याण्ड ओभर गर्ने काम भएको छ। यो गलत कुरा हो। घटनाको छानविन समिति गठन गरेपछि मात्रै हामी वार्तामा बस्छौं।’ उनले बारविहीन न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताए।
गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालतमा कार्यरत नायव सुब्वा तामाङ र अधिवक्ता लामीछानेबीच विवाद भएको थियो। अदालतको फाँटमा रहेको फाइल हेर्न नमिल्ने भन्दै प्रतिवाद गर्न खोज्दा आफूमाथि लामिछानेले आक्रमण गरेको भन्दै तामाङले प्रहरीमा जाहेरी दिएकी थिइन्। बारले भने कर्मचारीले घुस मागेको आरोप लगाएको छ। अधिवक्ता लामिछानेले घुस दिन अस्वीकार गरेपछि विवाद भएको बारको दाबी छ। सुरुमा देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए। आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो।
लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने, घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नुपर्ने कानुन व्यवसायीको माग छ। उनीहरुले कानुन व्यवसायी माथि झुट्टा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए।
0 comment