काठमाडौं – धेरै दिनपछि पहिरोका कारण अवरुद्ध भएको नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो । सडकको दुइतर्फी पहिरो पन्छाइ सडक सञ्चालनमा आएकोे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन् ।

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझमात्रै खुलेको थियो । संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको थियो । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा यात्रुहरुलाई जिवन कष्टकार बनेको थियो । साथै पहिरो पञ्छाएर केही बेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रुहरु अलपत्र परेका थिए । प्रहरीले सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न जन सर्वसाधरणहरुलाई आग्रह समेत गरेको थियो ।