काठमाडौं – दाङमा लागु औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध (ब्राउन सुगर) सहित असार १५ गते साँझ ७ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

यसरी पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ३ मसुरीया बस्ने २७ वर्षिय २७ शेरे भनिने दिलिप कामी, सोही ठाउँ निवासी २२ वर्षिय सुरज कामी, वडा नं.४ बस्ने २२ वर्षिय सुशील गिरी, वडा नम्बर १ बस्ने २० वर्षिया नेहा राई, रोल्पा लुडग्री गाउँपालिका १ घर भई हाल राप्ती गाउँपालिका १ बस्ने ३० वर्षिय छबिलाल पुन मगर रहेको प्रहरीले जानकारी दिएको छ । 

मसुरीया स्थित रामकली कामीको घरमा लागूऔषध कारोवार तथा सेवन हुदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी मसुरीयाबाट प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले निजको घरमा खान तलासी गर्दा लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित डिजिटल तराजुमा एकमुष्ठ तौल गर्दा ४ ग्राम ०.७ मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३ ग्राम ०. १ मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई दाङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरी यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।