काठमाडौं - झापाका माछा पालक किसानहरूले गाउँपालिकाको कृषि विकास शाखामा तालाबन्दी गरेका छन् । 

झापाको कचनकवल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा ठगी गरेको भन्दै माछा पालक किसानहरूले गाउँपालिका घेराउ गरी नाराबाजी गर्दै कृषि विकास शाखामा ताला लगाएका हुन् । 

एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर आफूहरूमाथि ठगी गरेको किसानहरूले आरोप लगाएका छन् ।  ठगी गर्ने कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक किसानहरूलाई उचित क्षतिपूर्ति दिलाउन उनीहरूले माग राखेका छन् । 

पालिकाले रौँ माछाको भुरा भनेर बजारमा बिक्दै नबिक्ने विगेट माछाको भुरा वितरण गरेको किसानहरूको भनाइ छ ।

गाउँपालिकाले गत जेठ १४ गते माछा पालक किसानका लागि प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट अनुदानमा दिने भन्दै जेठ २८ गतेभित्र रकम जम्मा गर्न सूचनामार्फत आव्हान गरेको थियो । ४२ किसानले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले अग्रिम रकम जम्मा गरेका थिए । गत असार १२ गते माछाको भुरा वितरण गरिएको थियो । 

गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको जनाएको छ । 

घटनाको छानबिनका लागि माछा पालक किसानहरूले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई शुक्रबार उजुरी दिएका थिए । 

अध्यक्ष राजवंशीले भुरा वितरण गर्ने गाउँपालिकाका कर्मचारीबाट कमीकमजोरी भएको स्विकार्दै पीडित किसानहरूलाई माग बमोजिमको जातको भुरा माछा पुनः वितरण गरिने र दोषी कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिएको बताए।