काठमाण्डौ, १७ असार ।  नारायणगढ–मुग्लिन सडक खण्ड फेरि आवरुद्ध हुँदा यात्रुहरु अलपत्र भएका छन् । साथै पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन रहेको छ । सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।

तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो । तर, राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो गएपछि सडक फेरि आवरुद्ध भएको हो । 

संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । पहिरो पञ्छाएर केही बेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन ।
गएको बिहीवार यता यो सडक मुश्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । केही वर्ष जोखिम घटेको नारायणगढ–मुग्लिन सडकमा पछिल्लो समयमा समस्या बन्दै आएको छ ।