काठमाडौं – प्रदेशसभाबाट विश्वासको मत नपाएपछि सरकार गठन भएको ६ महिना नपुग्दै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।
विश्वासको मतका लागि प्रदेशसभामा शुक्रबार भएको मत विभाजनमा हिक्मतकुमार कार्कीले ४६ मत पाएकै कारण उनी कोशी प्रदेशको मुख्यमन्त्री बाट पदमुक्त भएका हुन् । उनलाई बहुमतका लागि ४७ मतको आवश्यक थियो । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खस्यो । बैठकमा ८९ सांसद उपस्थित भएका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । विश्वासको मत प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बसेको थियो । उनले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष र विपक्षमा दलहरू विभाजित भएका थिए ।
कार्कीले सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मात्रै विश्वासको मत प्राप्त गरे । तर यसअघि गत पुस २४ गते मुख्यमन्त्री नियुक्त हुँदा कार्कीले माओवादी राप्रपा र जसपाको समर्थन पाएका थिए ।
प्रदेशमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ । यद्यपि, कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको गृहकार्य गरेको गठबन्धनलाई पनि चुनौती थपिएको छ । जसपासहितको समर्थनमा नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी थियो । विश्वासको मतको विपक्षमा उभिएको गठबन्धनलाई जसपाले साथ दिएन । जसका कारण गठबन्धन दलको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि क्षीण बनेको छ ।
जसपाले साथ दिँदा पनि गठबन्धनको पक्षमा ४६ मत मात्रै हुन्थ्यो । मत बराबरी भएको अवस्थामा सभामुख बाबुराम गौतमलाई प्रयोग गर्ने गठबन्धनको रणनीति थियो । नयाँ सरकार गठनलाई लिएर प्रदेशको सत्तासमीकरण थप रोचक बनेको छ ।
0 comment