काठमाडौं – पशुपतिनाथको मन्दिरमा रहेको ज्योतिर्लिङ्गमा सुनको जलहरी पुनः राखिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको हो । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनः स्थापना गरिएको हो । असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा लगिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको छ ।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो ।

महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन ।

पशुपतिको जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा जोखिएको थियो ।