काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै सहकारीलाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरेको छ। 

महानगरको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी मातहतका सहकारी संस्थालाई महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गर्दै संस्थाको यथार्थ स्थिति र कारोबारबारे महानगरलाई जानकारी गराउन आग्रह गरेको हो। 

महानगरको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेपछि महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको हो। 

महानगर प्रमुख बालेन शाहले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्र प्रभावित भएको समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गरेका छन्।

- रासस