काठमाडौं - काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका चारजनालाई थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीसहित सात जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका मध्ये मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत सुरेन्द्र कपाली र कलाधर देउजा तथा भूमि सुधार मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणी केसीलाई प्रहरीले मंगलबार नै कागजात गराएर छोडेको थियो।

पक्राउ परेका चारजनाको बयानको आधारमा अनुसन्धान अघि बढाउने सीआईबीको तयारी छ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। सोही प्रकरणमा सिआईवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। 

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।