काठमाण्डौ – ५० लाख दाइजो मागेको आरोपमा एक बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा, सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेको प्रहरीले जनाएको छ । 

एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित बेहुली परिवारको गुनासो छ ।

बेहुला पक्षले बेहुली पक्षसंग दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुल्न आएको प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । 

दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी थप अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ ।