काठमाडौं - प्रहरीले अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतको उधमसिंहनगर खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुन्धासु हल्दार, उधमसिंहनगर खटिमाका २३ वर्षीय रवि विश्वास, खटिमाकै ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभित न्यूरियाका ३५ वर्षीय शान्तिरञ्जन बैरागी र नोदिया पोष्ट इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्।
उनीहरुले दोधारा चादँनी नगरपालिकामा ९ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र भीमदत्त–१३ साझा चौराहमा १/१ औषधि पसल सञ्चालन गर्दै आएको प्रहरीले जानकारी दिएको छ।
अनाधिकृत रुपमा औषधि पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलवाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधी बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
0 comment