काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयगले एक करोड बढी भ्रष्टाचार गरेको आरोपमा बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहँदा मिश्रले एक करोड बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। २०५७ असार ८ देखि सरकारी सेवामा प्रवेश गरेका मिश्र २०७८ कात्तिक २६ गते सेवानिवृत्त भएका थिए।
सेवाअवधिभर मिश्रको पारिश्रमिक बचत, विभिन्न भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, आफ्नो नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकम समेत गरी कुल एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ आय देखिएको तर सो अवधिमा उनले २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ।
मिश्रले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको भनाइ छ।
मिश्रविरुद्ध १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ बिगो मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दामा उनका पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा रहेको सम्पत्ति समेत जफत गर्ने गरी तीनैजनालाई प्रतिवादी बनाइएको छ।
0 comment