काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली, मीनबहादुर गुरुङ र भुपेन्द्रमान श्रेष्ठ रहेका छन्। सुधीरकुमार शाह पूर्व निर्वाचन आयुक्त हुन् भने मीनबहादुर गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन्।
पक्राउ परेकाहरूलाई म्याद थपका लागि आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने र म्याद थपिएपछि आवश्यक अनुसन्धान सुरु हुने नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले जानकारी दिए।
भाटभटेनीका सञ्चालक गुरूङलाई विशेष अदालतले सोही प्रकरणमा २०७७ माघ २१ गते दुई करोड धरौटीमा रिहा गरेको थियो।
त्यसैगरी, सरकारी पदमा रहँदा ललिता निवासको जग्गा हिनामिना गर्ने कार्यमा संलग्न रहेको पूर्वनिर्वाचन आयुक्त शाहमाथि आरोप छ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी हिनामिना भएको घटनाको सीआईवीले अनुसन्धान गरिरहेको छ । उक्त जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो। ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
0 comment