काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले ठगी गरेको आरोपमा एकजनालाई भारतबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा "शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले रहेका छन् । प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा काफ्ले पक्राउ परेका हुन् ।
काफ्लेलाई सीआईबीको टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिनु भयो।
काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगी गरेको रकमको परिणाम थप बढ्न सक्ने सीआईबीले जनाएको छ ।
पोखरेलले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको सिआइबीका प्रमुख बज्राचार्यको भनाई छ ।
सिआइबीको टोलिले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डिएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
0 comment