काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा संसदले गरेको निर्णय अर्को संसदले मान्नुपर्ने बताएका छन्।

नागरिकता विधेयकको प्रसंगमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने,'हाम्रो संविधान अनुसार सरकार, सदन सबै संस्थाहरु अविच्छिन्न उत्तराधिकारवाला संस्था हुन् । एउटा सरकारले गरेको निर्णय अर्को सरकारले मान्नुपर्छ । सिधै अर्को सरकारले मान्दिन भन्न पाउँदैन । संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । एउटा संसद्ले गरेको निर्णय अर्को संसद्ले मान्दिन भन्न मिल्दैन ।'

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेको भन्दै संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको आरोप लगाए। उनले भने,'नागरिकतासम्बन्धी विधेयक संसद्बाट पारित भएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि गएको थियो । तर, राष्ट्रपतिज्यूले त्यसलाई होल्डमा राख्नुभयो । त्यतिबेला पनि कुरा उठेको थियो। संविधानको संरक्षकले नागरिकता विधेयक फिर्ता गर्नुभयो । सो विधेयक प्रमाणीकरण गर्नुभएन । '

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको मुल मर्म नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउन् भन्ने रहेको बताए ।

प्रचण्डले भने, ‘नागरिकताविहीन १२ लाख पुगिसके । ओली हुँदा ल्याएको अध्यादेश होस् चाहे देउवाजी हुँदा ल्याएको विधेयक होस् । उद्देश्य एकै हो। तर, सरकारले निर्णय गर्छ, अदालतले रोक्छ । यो सत्तापक्ष र प्रतिपक्षले भोगेको पीडा हो । अदालतमा यो विषय गइसक्यो,'अब पर्खौं ।’

प्रचण्डले भने, ‘अनागरिकले नागरिकता नपाउन् भन्ने मुल मर्म हो । हामी सबै वास्तविक नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित नहोस् भन्नेमा हामी प्रष्ट छौं,यो सिद्धान्तमा हामी कोहि द्वविधामा छैनौं । त्यतिबेला नागरिकतासम्बन्धी अध्यादेश जारी गर्दा प्रतिपक्षी दलको नेता प्रधानमन्त्री हुनुहुन्थ्यो ।’

नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाइएको उनको भनाइ छ। 'नेपालमा विवाह गरेर आउने महिलाको हकमा केहि क्राइटेरिया राख्नुपर्ने भन्ने पक्षमा छौं । नागरिकता विधेयक सर्वसम्मत विधेयक हो ,'प्रचण्डले भने।

सीमाको विकल्पबारे प्रस्ताव गरेको छैन

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै भारतसँग कुनैपनि पनि सीमा विकल्पबारे प्रस्ताव नगरेको दावी गरे।

प्रचण्डले भने, ‘प्रष्ट होस् मैले कहिँ पनि विकल्पबारे प्रस्ताव गरेको छैन । कालापानी लिम्पियाधुरा नेपालको भूमि हो । बंगलादेश मोडेलको कुरा मैले भनेको होइन । मैले त्यहिअनुसार आफ्नो भूमिका खेलेको छु । सिधा देखिएको कुरालाई घुमाउरो नबनाऔं । भारत भ्रमण सफल मात्रै भएन । परिणाममुखी भयो ।’ 

सीमा समस्या हल गर्ने कुरा बाहेक केहि नबोलेको उनले बताए। प्रचण्डले भने, ‘राष्ट्रिय हित प्रवर्द्धन गर्ने कुरामा जनसमुदायमा कन्फ्यूजन क्रीएट नगरौं । यो भ्रमण कामकाजी भ्रमण भएको छ । ’

भारत, नेपाल र बंगलादेशसँग त्रिपक्षीय साझेदारी गरेर नेपालको विद्युतसम्बन्धी काम अघि बढाउने कुरा सामान्य नभएको उनको भनाइ छ। प्रधानमन्त्रीले कालापानीसँग पूर्वीनाका साट्ने कुरा आफ्नो नभइ विज्ञहरुको भएको बताए।

कैलाली र चितवनमा क्रिकेट मैदान निर्माण गर्न भारतसँग गम्भीर छलफल

प्रधानमन्त्री प्रचण्डले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि भारतसँग गम्भीर छलफल भएको बताएका छन्।

आफ्नो चार दिने भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै सोमबार प्रचण्डले कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिए।

विकास निर्माण परियोजनाका लागि विष्फोटक पदार्थको सहज आपूतिका लागि मोदी सकारात्मक

प्रधानमन्त्री प्रचण्डले विकास निर्माण परियोजनाका लागि विष्फोटक पदार्थको सहज आपूतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीररुपमा छलफल भएको बताएका छन्।

उनले भने,' नेपालमा निर्माणाधिन जलविद्युत र सडकजस्ता ठूला विकास निर्माण परियोजनाका लागि अतिआवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले गम्भीररुपमा कुरा राखेको छु। यस विषयमा प्रधानमन्त्री मोदीबाट सकारात्मक जवाफ पाएको छु।'

प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुउद्देश्य परियोजनाको सीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्रै विस्तृत परियोजनाको प्रतिवेदन डीपीआरलाई अन्तिम रुप दिने र द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको बताए। वित्तीय प्रबन्धसहित दुई सरकारले डीपीआर स्वीकृत गरेपछि एकवर्षभित्र कार्यान्वयनको मोडालिटी ढाँचा पनि सुनिश्चित गर्ने टुंगो लागेको उनको भनाइ छ।

नेपालतर्फका संरचनाको तयारीको अवस्थामा टनकपुर ब्यारेजबाट लिंक क्यानलमार्फत् चरणबद्धरुपमा नेपाललाई पानी उपलब्ध गराउने सहमति भएको प्रचण्डले बताए।

यस्तै उनले मलको सहज आपूर्तिका लागि प्रधानमन्त्री मोदीसँग गम्भीरुपमा छलफल भएको बताए।

सीमा विवाद सुल्झाउन मोदी सकारात्मक

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल-भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, 'सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु ।' भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रहेका सीमालगायत थाँती रहेका विवादका विषय समाधान गर्न सकारात्मक रहेको प्रचण्डले संसदमा जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने,'लामो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो ।