काठमाडौं - काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियम अनुरुप सञ्चालन भएका पाइएको छ । 

दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो ।  

गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्व लक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएको पाइएको कामपाले जनाएको छ । 

एक सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने तीन सय ११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । 

अनुगमन गरिएका पसलमध्ये चार सय ३८ किराना, १८ मिठाई, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल रहेका छन् ।

बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केच अप, जाम लगायत खाद्य वस्तुमा म्याद सकिएको पाइएको न्यौपानेले बताउनुभयो । 

रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको लगायत समस्या रहेको उहाँले जानकारी दिनुभयो । 

मिठाई पसलहरूमा स्वीकृत भएकै रङ्ग प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाईमा उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाई बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा नभएको पनि अनुगमनका क्रममा फेला परेका उहाँले उल्लेख गर्नुभयो ।

यी समस्या समाधानका लागि सम्बन्धितलाई अनुगमन टोलीले स्थलगत रुपमा निर्देशन र सुझाव दिएको जनाएको छ ।