काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा परेपछि आक्रोशित भएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-'मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको छ। अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ। घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै लामिछानेविरुद्ध बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध रिट दायर गरेका हुन्।

नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ। मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ। रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ। 

रिटमा भनिएको छ,‘नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विद्यमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णयलगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ।’

लामिछाने यसअघि नागरिकता विवादमा मुछिएपछि सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको थियो।