काठमाडौं - देशभरका सडक पूर्वाधारमा तोकिएको भन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशन गर्दै यस्तो घोषणा गरेका हुन् ।
महासङ्घको व्यवस्थापनमा रहेको यो धर्मकाँटाको डिजिटल रूपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने जनाइएको छ ।
धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिनुभयो ।
महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन । महासङ्घका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ ।
डिजिटलाइजेशनपछि ओभरलोडको तथ्याङ्क र ट्रकको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।
शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।
0 comment