काठमाडौं - गर्भवती महिलाको मृत्युका विषयलाई लिएर सिन्धुली तनावग्रस्त भएको छ।
मंगलबार बिहान ११ बजे सिन्धुली अस्पतालमा प्रसुति गराउन आएकी कमलामाई नगरपालिका ५ सिलामेकी २९ वर्षीया गंगाकुमारी गुरुङ श्रेष्ठलई डाक्टरले सुइ लगाइ दिंदा बेहोस भएर मृत्यु भएको पिडित पक्षको आरोप छ। आक्रोशित भिडले हिजोदेखी अस्पतालमा ढुंगामुढा र तोडफोड गर्दै बिपी राजमार्ग समेत अवरोध गरेका छन्। दोषी डाक्टरमाथि कारबाही हुनु पर्ने, पिडितले क्षतिपुर्ति पाउनु पर्ने माग छ। मंगलबार आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरी निरीक्षक घाइते भएका थिए।
आज अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएपनी केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो। पिडित परिवारले सहमति जनाए पनि भिड नियन्त्रण हुन नसकेपछि अस्पतालका सेवा पुनः अवरुद्ध भएको छ। झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्। झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको भएको थियो।
सम्बन्धित सबै पक्षबीचमा घटनाबारे छानविन गर्न सहमति भएर समिति गठनका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भए पनि पुन भिड नियन्त्रण बाहिर गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।
उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले कति फायर गर्यो भन्ने यकिन छैन। आक्रोशित भिडले पुनः विपी राजमार्ग अवरुद्ध गराएका छन्। उनीहरु पुनः तोडफोडमा उत्रिएका छन्।
अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि मंगलबार दिउँसो ३ बजेर २० मिनेट जाँद महोत्तरीको बर्दिबास स्थित ट्रमासेन्टरमा पठाइएको थियो। पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको घोषणा भएपछि पिडितले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए।
0 comment