काठमाडौं – माछापुच्छ्रे बैंकको खाताबाटै एक सेवाग्राहीको ९ लाख रकम गायब भएको छ । 

बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादव माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा चेक साट्न गएका थिए तर उनले जम्मा गरेको रकम एकाएक गायव भएपछि यादवले बैंकका शाखा प्रमुख दासलाई खवर गरेका थिए । तर शाखा प्रमुख दासले “ह्याकरले” सेवाग्राही यादवको खाताबाट पैसा तानेको छ, यसमा हामि केही गर्न नसक्ने बताएका छन् । 

गत शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । गत बिहीबार मात्रै उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेज समेत आएको थियो । 

आइतबार ८ लाखको चेक लिएर साट्न गएका सेवाग्राही यादवले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए । यसबारे बैंकलाई जानकारी गराउँदा शाखा प्रमुख दासले खातावालालाई आफैं पत्ता लगाउनु भने पछि बैंकमा पीडितका आफन्तले बैंकले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् ।

खातावाला पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन् । खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउँदासमेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाई छ ।

सेवाग्राहीको बैंक खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको पाइएको छ । खातावाला यादवको खाताबाट रकम सिटिजन बैंक, सानीमा बैंकमा ट्रान्सफर भएको शाखा प्रमुख दासले बताएका छन् ।

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपि एकनारायण कोईरालाले सेवाग्राही यादवको खाताबाट रकम हराएको विषयमा थप अनुसन्धान भई रहेको जानकारी दिएका छन् ।