काठमाडौं – बलात्कारपछि हत्या गरी फरार रहेका दुई जना आरोपितलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । 

१६ वर्षअघि एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी दुई अभियुक्त फरार रहँदै आएका थिए ।   धरानस्थित इलाका प्रहरी कार्यालयले आइतबार पक्राउ गरी उनीहरुलाई सार्वजनकि गरेको हो । 

यसरी पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ०६४ मंसिर १९ गते २५ वर्षीया विवाहित महिला ललिता राईलाई साविक धरान–५ महेन्द्रपथस्थित बलभद्रेश्वर अरुणोदय धर्मशालाको २१८ नम्बर कोठामा ल्याएर पटक–पटक बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको उनहिरुले बयान दिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् । 

हत्या भएकी ललिता राईको मुख र योनीबाट रगत बगिरहेको अवस्थामा उनको शव सोही कोठामा मंसिर २३ गते बेलुका फेला परेको थियो ।

फरार रहेका अभियुक्तहरु घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको मल्लले जनाकारी दिएका छन् । 
लामो समय नेपाल बाहिर बसेपछि फर्केर आएको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थपी उनीहरुमाथि अनुसन्धान भइरहेको मल्लले बताए ।