काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई २-० गोलले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २४औं मिनेटमा गोल गर्दै विलियम ओपोकुले सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको सातदोबाटोका लागी ४७औं मिनेटमा ओपोकुले फ्रि-किकमार्फत सोझै गोल गर्दै २-० को अग्रता दिलाउँदै जित सुनिश्चित गरे । 

जितसँगै १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट २६ अंक जोडेको थ्री स्टार पाँचौं स्थानमा झरेको छ। शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ चरण सकिँदा ३६ अंक छ।

दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३२ र तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ। रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारको क्रमशः २१ र १८ अंक छ।