काठमाडौँ – पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवकको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका बाँके खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा उनको निधन भएको हो ।
साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन् । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताएका छन् ।
साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।
0 comment