काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा आज तीनै खेल बराबरीमा टुङ्गिएको छ । 

दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबले २–२ गोलको बराबरी खेले। 

पहिलो हाफ गोलविहीन रहेपनी रोमाञ्चक बनेको दोसो हाफको ६८औं मिनेटमा प्रकाश बुढाथोकीको गोलसँगै फ्रेन्ड्सले अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै ओलावालो अफिजले गरेको गोलसँगै मछिन्द्रले बराबरी गर्‍यो। 

रफिक अमिनुले ७९औं मिनेटमा गोल गर्दै पुनः फ्रेन्ड्लाई अग्रता दिलाए। तर, त्यसको चार मिनेट नबित्दै आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै साविक विजेतालाई हारबाट जोगाए।

बराबरीसँगै मछिन्द्रले लिग लिडरसँग अंक बराबरी गर्ने मौका गुमाएको छ भने दुई पटक लिएको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले रेलिगेसन क्षेत्रबाट माथि उक्लिने मौका गुमाएको छ।

१९ खेलबाट ३१ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ। १९ खेलबाट २१ अंक जोडेको फ्रेन्ड्स १३औं स्थानमा छ। 

त्यसैगरी, आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग समान २–२ को बराबरी खेलेको छ।

च्यासल रंगशालामा भएका खेलको १९औं मिनेटमा कोफी कौडोले गोल गरेसँगै मनाङले अग्रता लिएको थियो। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा योसेफ अत्रिसले संकटाका लागि बराबरी गोल फर्काएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा कौडोले गरेसँगै मनाङले पुनः अग्रता लिएको थियो। दोस्रो हाफको सुरुआतमै मनीष डाँगीले गरेको गोलसँगै संकटाले बराबरी गर्यो।

खेलमा दुई पटक अग्रता लिए पनि मनाङ अंक बाँड्न बाध्य भयो।

बराबरीसँगै १९ खेलबाट २३ अंक जोडेको मनाङ सातौं स्थानमा उक्लिएको छ। यस्तै, समान खेलबाट २२ अंक जोडेको संकटा ११औं स्थानमा छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा न्यू रोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

बराबरीसँगै १९ खेलबाट ३२ अंक जोडेको जावलाखेल दोश्रो स्थानमा छ। यस्तै, समान खेलबाट २३ अंक जोडेको एनआरटी आठौँ स्थानमा छ।