काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार पछिल्ला ६ खेलमा जितविहीन छ।

आज च्यासल रंगशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबले थ्री स्टारलाई १–० को नतिजामा पराजित गरेको हो। खेलको १०औं मिनेटमा युटा सुजुकीले  गरेको एक मात्र गोल निर्णायक बन्दा थ्री स्टार लगातार ६ खेलमा जितविहीन रह्यो। पछिल्ला ६ खेलमध्ये चार खेलमा बराबरी र दुई खेलमा थ्री स्टारले पराजय भोगेको छ।

जितसँगै साविक विजेता मछिन्द्र १७ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट २५ अंक जोडेर थ्री स्टार चौथो स्थानमा छ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० को नतिजामा पराजित गरेको छ।

खेलको ४३औं मिनेटमा जिलेस्पी जंग कार्कीले गरेको एकमात्र गोल निर्णायक बन्यो। 

जितसँगै १७ खेलबाट २४ अंक जोडेको आर्मी लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ३० अंक जोडेको चर्च ब्वाइजले तीन अंक जोडेर शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। शीर्ष स्थानको जावलाखेल युथ क्लबको १७ खेलबाट ३० अंक नै छ।