काठमाडौं – नेपालमा धान प्रमुख खाद्यान्न बाली हो । तराईदेखि उच्च पहाडसम्म मुख्यतः वर्षे सिजनमा र केही मात्रामा चैते सिजनमा धानको खेती गरिन्छ । देशको कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत भन्दा बढी र कृषि क्षेत्रमा १५ प्रतिशत भन्दा बढी धानको योगदान रहेको छ । नेपालको धान खेतीमा महिला बाहुल्यता श्रमिकले झुकेर धान रोप्ने, गोड्ने प्रचलन रहेको छ । यो परम्परागत उत्पादन प्रणालीको द्योतक हो । धान बालीको उत्पादन तरिका परम्परागत हुँदा नेपाली युवाहरुले अवलम्वन गर्न हिच्किच्याउने प्रवृतिको विकास भईसकेको छ ।
जसले गर्दा धानको उत्पादन प्रणालीको निरन्तरतामा चुनौती नै खडा गरिदिएको छ । यसको परम्परागत तरिकामा अधिक उत्पादन लागत हुँदा धान खेतीप्रति कृषकको आकर्षण देखिँदैन र निजी क्षेत्रको प्रवेशमा कुनै गुञ्जायस नै छैन । कृषिमा आधुनिकीकरण गर्ने देशहरुले धानको उत्पादन लागत घटाउँदै लगिरहेका छन् जुन मेशिन तथा उन्नत जातहरुको प्रयोगले सम्भव भएको हो ।
जसले गर्दा बजारमा सस्तो खाद्यान्न भित्रिने र नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो परेको छ । तर नेपालमा मानव श्रम प्रधान खेती प्रणालीका कारण उत्पादन लागत बढी रहेको छ । तर सोहि अनुपातमा उपजको मुल्य बढ्न सकेको छैन । धानको बजार उच्च दरमा बढ्न पनि गार्हो छ । यदि कृषकले खेतीलाई निरन्तरता दिने हो र मुनाफामा बृद्धि ल्याउने हो भने उत्पादन प्रणालीका हरेक पक्षमा मेशिनको व्यवसायिक प्रयोग गर्नु अति आवश्यक छ ।
सरकारी तथा निजी प्रयासबाट मेशिनले धान रोप्ने कार्य गत एक दशक अगाडिदेखि नै शुरुवात भएको देखिन्छ । तर, नर्सरी प्रविधिको ज्ञानको प्रसार नहुनु, कम गुणस्तरका मेशिनहरुको आयात हुनु, मेशिनहरुको सञ्चालनमा प्राविधिक क्षमता र दक्षताको विकास नगरिनु आदि कारणहरुबाट ती प्रयासहरु सार्थक हुन सकेका थिएनन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यान्त्रीकरणको प्रयास स्वरुप चितवनमा आधुनिक तरिकाले धानको नर्सरी राख्ने र मेशिनले रोप्ने कार्यको सुरुवात भएको छ । चितवनमा हाल चारपाङ्ग्रे धान रोप्ने मेशिनको प्रयोगलाई प्रोत्साहन गरिएको छ र यसको व्यवसायिक उपयोग सुरु भएको छ । यस कार्यलाई थप प्रोत्साहन गर्न, हालसम्मका प्रयासवाट अवलम्बन भएका प्रयासहरुलाई सरोकारवालाहरु माझ जानाकारी दिन र अनुसन्धानको क्षेत्रलाई थप उर्जा प्रदान गर्न समेत उपयोगी होस् भन्ने उद्देश्यले यो लेख तयार गरिएको हो ।
मेशिनले धान रोप्ने प्रविधि (Mechanical Rice Transplanting Technology) :
विशेष प्रकारले तयार गरिएको कलिलो बेर्नालाई आधुनिक मेशिनको सहायताले रोपाई गर्ने प्रविधि हो । परम्परागत तरिकामा ३०–४० दिनसम्मको नर्सरीवाट उखेलिएको, जरा पखालिएको र जरामा असर पुगेको बेर्ना रोप्ने गरिएकोमा यस प्रविधिमा १५–२० दिनको (माघमा राखिएको नर्सरीमा २५ दिनसम्म) कलिलो बेर्ना रोपिन्छ ।
आधुनिक प्रविधिको रुपमा भित्रिएको धान रोप्ने मेशिन खर्चिलो र कष्टपुर्ण मानव श्रमलाई यन्त्रद्वारा बिस्थापन गर्ने माध्यम हो । यस प्रविधिमा प्लाष्टिक ट्रे वा म्याट नर्सरीमा उत्पादन भएको धानको बेर्नालाई मेशिनको प्रयोगबाट रोप्ने गरिन्छ । धान रोप्ने मेशिनको प्रयोग गर्नाले खेतमा धानको विरुवा बिच निश्चित दुरी कायम हुन्छ जुन पछि गरिने झार गोड्ने, मलखादको प्रयोग तथा धान काट्ने समयमा पनि अन्य मेशिनहरु प्रयोग गर्न सजिलो हुने गर्दछ । स्वस्थ बिरुवा विकासको लागि आवश्यक मात्रामा हावाको प्रवाह हुनु जरुरी हुन्छ जुन कुरालाई मेशिनबाट धान रोप्दा सहयोग गर्दछ ।
मेशिनले धान रोप्दा हुने फाइदाहरु :
१. लाइनमा मिलाएर रोप्ने हुनाले हावा, घाम र पानीको उचित व्यवस्थापन हुने तथा कलिलो विरुवा (१५–२० दिनको) रोपिने हुनाले विरुवाको वृद्धि भई उत्पादकत्व बढ्छ ।
२. लाइनमा रोपेर झार निकाल्न मेशिन तथा औजारहरुको प्रयोग गर्न सकिन्छ ।
३. औसतमा २२ जना श्रमिकले एक हेक्टर धान रोप्ने गरेकोमा ६ लाईनमा रोप्ने चार पाङ्ग्रे मेशिनबाट प्रति घण्टा १५ कठ्ठाका दरले दिनमा ४–५ हे. सम्म धान रोप्न सकिने हुन्छ । अर्थात, एउटा मेशिन र ३ जना श्रमिकले दिनमा करिव ८०–१०० जनासम्म श्रमिकको कार्य गर्न सक्छ । ४.
बेर्नाको जरामा कुनै क्षति नहुने, नर्सरीको माटोसँगै जमिनमा रोपिने हुनाले रोपिसकेपछि छिटो बढ्छ ।
५. धानको उत्पादन लागत घटाउँछ ।
६. मेशिनको प्रयोग युवा मैत्री हुन्छ, व्यवसायिकता वृद्धि हुन्छ र खेती प्रणालीमा आधुनिकता थपिन्छ ।
मेशिनले धान रोप्न ध्यान दिनुपर्ने मुख्य विषयहरु :
१. विशेष प्रकारको नर्सरी राख्नुपर्छ ।
२. मेशिनको उपलव्धता सुनिश्चित गर्नुपर्दछ ।
३. मेशिनसँग मिल्ने प्रकारको नर्सरी ट्रे, नर्सरी राख्ने दिन र रोपाईको क्यालेण्डर बनाउनु पर्दछ ।
४. सिंचाई र गह्रामा बढी भएको पानीको निकासको प्रवन्ध गरिनुपर्दछ । छिपछिपे पानी भएको हिलोमा रोप्न सहज हुन्छ ।
५. नर्सरी ट्रेको विकल्पमा प्लाष्टिक म्याट नर्सरी बनाउँदा २ से.मी. भन्दा बाक्लो मोटाई बनाउनु हुँदैन ।
६. रोपाई लगत्तै झार उम्रिनु पुर्व प्रयोग गर्ने विषादीको उचित प्रयोग गर्नुपर्छ ।
विशेष प्रकारको नर्सरी मेशिनमा प्रयोग हुने यो नर्सरी प्लाष्टिक विच्छाएर स–साना प्वाल बनाई फ्रेमको ट मेसिनले धान रोप्नका लागि जानकारीमुलक पुस्तिका सहायताले माटोको चटाई तयार गरी वा मेशिनसँग मिल्ने साईजको ट्रेमा बेर्ना राखी (गुन्द्रि, चटाई, म्याट) तयार गर्नुपर्दछ ।
0 comment