काठमाडौं – हामी बस्ने पृथ्वी हावाको विभिन्न तहले छोपिएको छ ।  यसलाई  एकै  चोटि  भन्नुपर्दा  वायुमण्डल  भनिन्छ । यो वायुमण्डल मुख्यतया नाईट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड र धुलोका कणहरू, पानीका वाफ लगायत अन्य ग्याँसहरूको सम्मिश्रण हो । 


हामीलाई प्राप्त हुने प्रकाशको मुख्य स्रोत सूर्य भएको हुँदा जब सूर्यको प्रकाश वायुमण्डलमा प्रवेश गर्दछ यो प्रकाश त्यहाँ उपस्थित धुलोका कण पानी र हावाको कणहरूमा पर्दछ । यी कणहरूले सूर्यबाट आएका प्रकाशलाई चारै दिशामा परावर्तन गरिदिन्छ । यसकारण सूर्याेदय पश्चात् चारै दिशा उज्यालो हुन्छ । 


सूर्यको प्रकाशमा सात विभिन्न रङ्गहरू हुन्छन् । ती हुन्ः प्याजी, इण्डिगो, निलो, हरियो, पहेंलो, सुन्तला र रातो । सूर्यको प्रकाश जब वायुमण्डलमा रहेको हावाका कणहरूसँग सम्पर्कमा आउँछ त्यसपछि प्याजी, इण्डिगो, निलो रङ्ग चारैतिर फैलिन थाल्छु । तर रातो रङ्ग कम मात्रामा फैलिन्छ । त्यसकारण घाम लागेको बेला हामीले आकाशमा हेर्दा हाम्रो आँखामा यसरी परावर्तन भएको प्रकाश बिम्बहरूमध्ये प्याजी, इण्डिगो र निलो रङ्ग प्रवेश गर्दछ । यी तीनवटै रङ्गको मिश्रण हुँदा करिब निलो रङ्ग बन्न पुग्छ । त्यस कारण प्रकाश भएको बेला आकाशमा हेर्दा निलो देखिन्छ । 


यदि पृथ्वीमा वायुमण्डल नभएको भए, आकाश कालो अर्थात् अँध्यारो देखिन्थ्यो । यो तथ्य चन्द्र धरातलबाट पनि पुष्टि भएको छ । चन्द्रमामा वायुमण्डल नभएको हुँदा त्यहाँबाट  हेर्दा  आकाश  कालो  देखिन्छ ।  अन्तरिक्षयानबाट हेर्दा आकाश कालो नै देखिन्छ किनभने अन्तरिक्षमा कुनै वायुमण्डल र धुलोका कणहरू हुँदैनन् ।