काठमाडौं - जापानी प्रधानमन्त्री फुमियो किशिदा सम्मिलित एक र्यालीमा स्मोक बम प्रहार भएको छ ।
जापानको पश्चिमी शहर वाकायामामा शनिबार बिहान एक र्यालीलाई प्रधानमन्त्री किशिदाले सम्बोधन गर्न लागेका बेला स्मोक बम प्रहार भएको हो । विष्फोटपछी उनलाई त्यहाँबाट निकालिएको थियो ।
घटनाको फुटेजमा सुरक्षा अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेर लैजाँदै गरेको देखिन्छ।
एक प्रत्यक्षदर्शीले एक व्यक्तिलाई केही फ्याँकिरहेको देखेको जसबाट पछि धुवाँ निस्किरहेको बताए। केही मानिसले ठूलो बमको आवाज सुनेको बताए। रिपोर्टका अनुसार पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो ।
प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । तर, प्रहरीले यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ ।
प्रधानमन्त्री किशिदाले वाकायामा प्रिफेक्चरको सेकजाई बन्दरगाहको भ्रमण गरिसकेपछि भाषण सुरु गरेको बेला यो घटना भएको हो।
यसअघि पनि जापानका पूर्वप्रधानमन्त्रीमाथि आक्रमण भएको थियो। गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको बैठकका क्रममा गोली हानी हत्या भएको थियो । सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागको नारामा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।
0 comment