काठमाडौं - पोखरामा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । 

पोखराका ग्रामिण क्षेत्रको कृषि उत्पादन ताजा अवस्थामै उपभोक्ता माझ पुर्‍याउने गरी बिरौटास्थित कृषि बजारमा शुक्रबार एक कार्यक्रमकाबीच कृषि एम्बुलेन्सको सुरुवात गरिएको हो । पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

कृषि एम्बुलेन्स सेवाले ग्रामिण क्षेत्रका किसानले डोकोमा बोकेर बजारसम्म ल्याउदा खर्च हुने समय, मेहनत कृषिमै लगाउन सहयोगी हुने विश्वास गरिएको छ । अहिले सिकानले उत्पादन गरेका सागसब्जी, फलफूल बजारसम्म ल्याउँदा बिग्रने समस्या हुँदै आएकोमा कुलर सहितको एम्बुलेन्स सेवाले ताजा तरकारी तथा फलफूल उपभोक्ताले उपभोग गर्न पाउने विश्वास छ । 

उपभोग्य तरकारी तथा फलफूल बजारसम्म ल्याउने मात्र नभई तरकारीका बेर्ना, फलफूलका बेर्ना गाउँसम्म लग्न पनि कृषि एम्बुलेन्स सहयोगी हुने किसानहरुको विश्वास छ । गाउँघरमा उत्पादन भएका तरकारी तथा फलफूलले बजार नपाउने तर पोखरामा ठूलो परिमाणमा तरकारी तथा फलफूल भारतबाट भित्रने अवस्था अहिले छ ।

ग्रामिण क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल बजार सम्म ल्याउने गरी माइनस १५ डिग्री सम्म चिस्यान हुने रिफर (कुलर) भ्यान संचालनमा आएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । यो सुविधासँगै गाउँमा व्यवसायिक रुपमा कृषि उत्पादन हुने पनि उनले विश्वास गरे । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसान र उपभोक्ताको हितकालागि कृषि एम्बुलेन्स संचालनमा ल्याएको बताए । ग्रामिण क्षेत्रका कृषि उत्पादनले अब बजार नपाउने अवस्था नहुने उनले बताए । 

गाउँगाउँमा सडक सञ्जाल पुगेपछि गाउँको उत्पादन बजार झर्नु पर्नेमा सहरबाटै तरकारी, फलफूल तथा खाद्यान्न गाउँ उक्लने गरेको छ । युवा विदेशीनु, छोराछोरीको उच्च शिक्षाकालागि गाउँमा भएका युवा सहर पस्ने क्रम बढेसँगै गाउँमा खेती किसान हुँदै आएका जमिन बाँझो पन बढेको ग्रामिण क्षेत्रका किसानले बताएका छन् ।