काठमाडौं – गाँजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटामिनहरू हुन्छन् । यसलाई त भिटामिन एको प्रमुख स्रोतको रुपमा लिइन्छ । भिटामिन ए. बाहेक यसमा भिटामिन बी.सी., के आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।

हावापानी

गाजर खेतीको लागि १८ डि.से. देखि २० डि.से. सम्मको तापक्रम उपयुक्त हुन्छ राम्रो जरा विकास २० डि.से. मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ। यस्तोमा गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।

बाली चक्र र लगाउने समय

काठमाडौं उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ । यसको परम्परागत समय भने उच्च पहाडमा जेष्ठ साउनमा रोपी साउन असोजमा उखेलिन्छ । मध्य पहाडमा यसलाई भाद्र असोजमा लगाई मंसिर पुसमा बाली लिइन्छ । तराई क्षेत्रमा यसलाई असोज कार्तिकमा लगाई मसिर माघमा उखेलिन्छ । जातहरु न्यू कुरुडा नेपालकै लोकप्रिय जात हो तर यो नेपालको रैथाने भने होईन । यसका साथै नान्टिस जातको गाँजर पनि लगाउने गरिएको छ । घरमै उपभोग गर्नकालागि ५ वटा जति गमलामा गरिएको उत्पादन पनि ५ देखि ७ किलो सम्म गर्न सकिन्छ । 

आवश्यक सामाग्री

–    गमला १५ वटा
–    माटो ७ बोरा
–    मल ३ बोरा
–    बालुवा ४ बोरा
–    विउ २० ग्राम
–    पानी आवश्यकता अनुसार

खेती गर्ने तरिका

मल, माटा र बालुवालाई मिसाएर गमलामा भर्ने र त्यसपछि पानी दिने । ४ दिन पछि ख्रोसेर त्यसमा मसिनो गाँजरको बीउलाई ४० से.मी. फराकिलो गमलामा २० देखि ३० वटा सम्म पर्ने गरि छर्ने । बिउ उम्रेपछि त्यसलाई १ ईन्चको फरकमा काटछाँट गर्ने र एउटा गमलामा १० देखि १५ वटासम्म हुने गरि गाँजर फल्न दिने । 

बाली संरक्षण

बीउ उम्रेपछि ८–१० दिनमा बाक्लो बिरुवालाई हटाउने १२–१५ दिनमा एक पटक गोडमेल गर्ने र पानी दिने । यसमा थाक्रको आवश्यकता पर्दैन । हवा खेल्ने ठाउँमा गमला राख्नु पर्दछ । बर्षादमा पानीबाट जोगाउनु पर्दछ । 

रासायनिक मल र विषादी

यसमा रोग वा किरा पनि अन्य बालीको तुलनमा कम लाग्ने हुन्छ । यसैले रासायनिक मल र विषादीको प्रयोग गर्न आवश्यकता पर्दैन । बिउ उम्रेको ९० दिनमा गाँजर खानाका लागि तयार हुन्छ ।