काठमाडौं - कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। 

गत पुस १० गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन निर्माण हुँदा कर्णालीमा माओवादी केन्द्रको नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो। नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रको निर्णय अनुसार कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनको सरकारमा नेकपा एमालेबाट प्रदेश अध्यक्ष विनोद शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए। 

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युतिएपछि एमाले संघीय सरकारसँगै प्रदेश सरकारबाट पनि बाहिरिँदै गएको हो। कर्णाली सरकारमा सहभागी नेकपा एमालेका तीनै जना मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन्। 

मुख्यमन्त्री राजकुमार शर्माका प्रमुख स्वकीय सचिव शैलेस शर्माले आइतबार नेकपा एमालेबाट सहभागी तीनै जना मन्त्रीले राजीनामा पेस गरेको जानकारी दिए।