काठमाडौं —जय मातृभूमि पार्टीको भातृ संगठन युवा मातृभूमि शक्ति (युमास) को केन्द्रीय तथा जिल्ला तदर्थ समिति गठन सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय आमा घर, काठमाडौंमा आयोजित कार्यक्रममा जय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता युमासका केन्द्रीय संयोजक सविन विश्वकर्माले गर्नुभएको थियो । 
कार्यक्रममा युमासका केन्द्रीय सचिव तारा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय उपाध्यक्ष हुकुदेवी खत्रीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रामशरण पाण्डे, महासचिव लक्ष्मीदत्त भट्ट, सचिव यज्ञप्रसाद बस्याल तथा केन्द्रीय सदस्य बैकुण्ठ बेल्बासे लगायतका नेताहरूले संगठन सुदृढीकरण, युवा परिचालन, राष्ट्रिय स्वाभिमानको संरक्षण तथा पार्टीको भावी कार्यदिशाबारे आ–आफ्ना धारणा राख्दै आवश्यक निर्देशन दिनुभएको थियो । 
भेलाले युमासको केन्द्रीय तदर्थ समितिमा उपाध्यक्ष लव गुप्ता सहित ६ जना पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ । त्यसैगरी विभिन्न जिल्लाका संयोजक तथा सह–संयोजकहरू पनि चयन गरिएको छ । 
चयन भएका पदाधिकारीहरूमा, काठमाडौं जिल्ला संयोजकः अनिल श्रेष्ठ, काठमाडौं जिल्ला सह–संयोजकः बैभव खड्की, दार्चुला जिल्ला संयोजकः सुजल महता, बैतडी जिल्ला संयोजकः रुपेश बोहरा, डडेल्धुरा जिल्ला संयोजकः निराजन महता, मकवानपुर जिल्ला संयोजकः लक्ष्मी राउत बानियाँ रहेका छन ।
भेलामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित, अनुशासित तथा प्रभावकारी बनाउने उद्देश्यका साथ समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, युवा परिचालन तथा आगामी कार्यक्रमहरूका विषयमा समेत गम्भीर छलफल गरिएको पार्टीका अध्यक्षले बताउनु भयो । 
कार्यक्रममा सहभागी नेताहरूले देश निर्माण, सुशासन, राष्ट्रिय हितको संरक्षण तथा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।