काठमाडौं - आत्मदाहको प्रयास गरेका कैलालीको धनगढी उपमहानगरपालिकाका  युवकको  मृत्यु भएको छ।

३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले साउन ९ गते साँझ करिब ७: ३० बजे तिर  घरभित्रै  शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए।

चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। तर थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा  धादिङ पुगेपछि उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।