काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध सदन, सडक र आगामी निर्वाचनमार्फत संघर्ष गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको विचार गोष्ठीमा उनले गरिब, किसान, मजदुर र उत्पीडित समुदायका अधिकारमाथि प्रहार भएको आरोप लगाउँदै सरकारलाई “चारैतिरबाट घेरा हाल्नुपर्ने” बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि साझा न्यूनतम कार्यक्रम बनाएर वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
प्रचण्डले नयाँ पुस्तामा वैचारिक प्रशिक्षणको निरन्तरता कमजोर हुँदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको स्वीकार गर्दै सत्ता समीकरणभन्दा वैचारिक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गरे। साथै, उनले ‘जेनजी आन्दोलन’लाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यसविरुद्ध लोकतान्त्रिक र वाम शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।


0 comment