काठमाडौं - नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार गठनका लागि नयाँ राजनीतिक समझदारी भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिअनुसार पाँच प्रदेशमा दुवै दलले मिलेर सरकार गठन गर्ने सहमति भएको हो।

सहमतिअनुसार कोसी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने समझदारी भएको स्रोतले जनाएको छ।

पछिल्लो राजनीतिक समीकरणले केही समयअघि एकअर्काविरुद्ध तीव्र आलोचना गरेका दुई दल पुनः सत्ता सहकार्यमा फर्किएका छन्। यसअघि ओलीले "स्वर्ग–नर्क जहाँ गए पनि सँगै जाने" अभिव्यक्ति दिए पनि नेपाली कांग्रेससँग सहकार्य गर्दै नेकपालाई प्रतिपक्षमा पुर्‍याएपछि अध्यक्ष दाहालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए।

यसैबीच नेपाली कांग्रेसले प्रदेश सरकारमा सहभागी नहुने र प्रतिपक्षमै बस्ने निर्णय लिएपछि एमाले नयाँ सत्ता समीकरणतर्फ उन्मुख भएको हो। कांग्रेसले प्रतिपक्षविहीन सरकार लोकतान्त्रिक अभ्यासका दृष्टिले उपयुक्त नहुने भन्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने संकेत दिएको छ।

ओली–दाहालबीच भएको पछिल्लो सहमतिप्रति भने दुवै दलभित्रै असन्तुष्टि देखिएको छ। नेकपाका नेता मेटमणि चौधरी तथा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद झपट रावललगायत नेताहरूले सामाजिक सञ्जालमार्फत तीनबुँदे सहमतिको आलोचना गरेका छन्। उनीहरूले सत्ता बाहिर बस्न नसक्ने राजनीतिक संस्कृतिमाथि प्रश्न उठाउँदै यस्तो सहकार्य सत्ता स्वार्थबाट प्रेरित भएको टिप्पणी गरेका छन्।

नेता चौधरीले नेकपा गठनका क्रममा ओलीको कार्यशैलीमाथि गरिएको आलोचना स्मरण गराउँदै अहिलेको सहकार्यले राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग मिलेर नेकपा गठन गर्दा एमाले नेतृत्वको आलोचना गरिएको उल्लेख गर्दै उनले पछिल्लो सहकार्यको दीर्घकालीन राजनीतिक परिणामप्रति चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो सत्ता समीकरणले प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँटको टुंगो लगाए पनि त्यसले दलभित्रको असन्तुष्टि र राजनीतिक नैतिकताबारेको बहसलाई थप तीव्र बनाएको राजनीतिक वृत्तमा चर्चा छ।