काठमाडौं - कैलालीमा अनशनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा हिजो भएको वार्ताले कुनै  निष्कर्ष निकाल्न सकेन । वार्ता आज फेरि हुँदैछ ।

सरकार र डा. केसी पक्षबीच हिजो सेती प्रादेशिक अस्पतालभित्र दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म वार्ता भएको थियो। तर निष्कर्षविहिन टुंगियो ।मध्यरातसम्म भएको हिजोको वार्तामा निजी मेडिकल कलेजले एमबीबीएस पढाउने सिट संख्या तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका दुई पदाधिकारी हटाउने विषयमा सहमति जुट्न सकेन।

शिक्षा मन्त्रालयको अग्रसरतामा गठित सरकारी वार्ता टोली र डा.केसी पक्षबीच यी दुई विषयमा आज पनि छलफल हुनेछ ।  अन्य धेरै विषयमा भने सहमति जुटिसकेको बताईएको छ ।  आज बिहान १० बजे सुरु  हुने वार्तामा  फेरि यी दुई विषय टुंग्याउने बताईएको छ ।

सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम वार्तामा सहभागी छन् भने डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा सहभागी रहेका छन्।

सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधिहरूसँगै  डा.केसीसँग पनि छलफल गरेको थियो। डा केसीलाई भेट्न टोली अस्पताल पुगेका थिए ।

डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३ सय शैयाको अस्पताल तत्काल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्नुपर्ने तथा एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने माग अघि सारेका छन्।

गेटामा ३सय शैयाको अस्पताल बनाउने, तत्काल एमबीबीएस अध्ययनको व्यवस्था मिलाउने, छात्रवृत्ति ऐनअनुसार कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्न पनि सरकार तयार भएको छ। तर उपकुलपति, रजिष्ट्रारलाई पदमुक्त गर्ने तथा निजी मेडिकल कलेजको सिट संख्याको विषयमा आज फेरि थप छलफल हुने जनाइएको छ।

डा. केसी शुक्रबारदेखि धनगढीमा अनशन बसेका हुन्।

अनशनका क्रममा स्वास्थ्य अवस्था कमजोर बनेपछि चिकित्सकको सल्लाहमा  शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिएको छ ।