काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीचको झडपका क्रममा  प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ ।

गोली लागेका अरु ८ सर्वसाधारण विभिन्न अस्पतालमा उपचाररत् छन् । १३ जना प्रहरीसमेत घाइते भएका छन् । स्थानीय प्रशासनले थप हिंसा भड्किन नदिन कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई धार्मिक समूहबीच विवाद भएको थियो  । विवाद बढ्दै जाँदा झडप नियन्त्रणका लागि  गोली चलाउनुपर्ने अवस्था आइपरेको प्रहरीले बताएको छ ।

गएराति सवा १० बजे बोलबमका लागि हिन्दुहरुले कोसी ब्यारेजबाट जल लिएर अघि बढेका थिए ।  सो क्रममा डिजे बजाइएको र सोही डिजेको आवाजलाई लिएर विवाद बढेको थियो । दुवै पक्षबीच पहिला भनाभन भएको र झडपमा बदलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भाला जस्ता सामग्री बोकेर घटनास्थल पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीमाथि पनि ढुंगा प्रहार भएको बताइएको छ । त्यसपछि राति नै सशस्त्र प्रहरीको टोली प परिचालित गरिएको थियो ।

गोली लागेर घाइते भएका देवानगञ्जकै ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा   मिथलेश यादव,अमलेश मेहता,मिथलेश मेहता,अमित कुमार यादव,रविन्द्र मेहता, अमितकुमार यादव तथा सुनिलकुमार मेहतालाई उपचारका लागि विराटनगर लगिएको छ । देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् ।

झडपमा नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित आठजना प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक राईको टाउकोमा पाँचवटा टाँका लगाइएको छ ।  अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ । सशस्त्र प्रहरीतर्फ पनि पाँचजना घाइते भएको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने आफूहरूले गोली नचलाएको बताएको छ ।

प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान हुँदैछ ।