– सुजाता तामाङ्ग र करिश्मा गुरुङ्ग 

काठमाडौं – यो लेखको मुख्य उद्देश्य नेपालको कृषिमा महिलाकरण, यसका कारण र प्रभावबारे विश्लेषण गर्नु हो । नेपालको विभिन्न नौवटा जिल्लाका विभिन्न गाउँमा गरिएको घरधुरी सर्वेक्षण, समूह छलफल तथा जानकारसँगको अन्तर्वार्ताका साथै यसअघि यस विषयमा भएका अध्ययनको समीक्षाका आधारमा यो लेख तयार गरिएको हो । 
यो लेखको लागि आवश्यक प्रारम्भिक तथ्यांक वि.सं. २०७२ मा संकलन गरिएको हो । यस लेखको प्रस्तुतिमा सबैभन्दा पहिले कृषिकर्मको महिलाकरणको अहिलेको अवस्था तथा मुख्य कारणबारे विश्लेषण गरिएको छ भने दोस्रो भागमा यसका प्रभावबारे छलफल गरिएको छ । 

कृषिकर्मको महिलाकरणका मुख्य कारणमा कृषिबाट पुरुष पलायन, कृषिबाट हुने आम्दानीमा कमी, कृषि पेशाको घट्दो लोकप्रियता (हेयको पेशा), सहरोन्मुख बसाइसराइ, ववैदेशिक रोजगार र नीतिगत असफलता आदि पाइएको छ । त्यसैगरी मुख्य प्रभावमा महिलाको कार्यबोझ, बाँझो जमिन, श्रम अभाव, उत्पादनमा कमी, बढ्दो खाद्यवस्तु आयात, बढ्दो खाद्य असुरक्षा, कृषि सेवामा पहुँच बृद्घि, महिला उद्यमशीलता, लैंगिक समावेशिता र निर्णयमा पहुँच पाइएको छ । 

यस अध्ययनको नतिजाअनुसार महिलाकरणका प्रभावमध्ये महिला उद्यमशीलता, लैंगिक समावेशिता र निर्णयको पहुँचमा वृद्धि हुनुलाई सकारात्मक प्रभावका रूपमा तथा कार्यबोझ, बाँझो जमिन, श्रम अभाव, उत्पादनमा कमी, बढ्दो खाद्यवस्तु आयात, बढ्दो खाद्य असुरक्षालाई नकारात्मक प्रभावका रूपमा लिइएको छ । 
यस अध्ययनले यसका सकारात्मक प्रभावलाई संस्थागत गर्ने तथा नकारात्मक प्रभावलाई सम्बोधन गर्न सकिए महिला सशक्तीकरण तथा उनीहरुको समग्र आर्थिक सामाजिक पहुँच तथा सहभागितामा वृद्धि हुन सक्ने देखाएको छ । 

कृषिमा महिलाकरणको प्रभाव सबै वर्ग तथा समुदायमा समान रूपले नपर्ने भएकोले अहिलेसम्म देखिएको महिलाकरणका प्रभावको असर कुन वर्ग र समुदायमा कुन तहसम्म परेको छ भन्ने कुराको विश्लेषण गर्न थप अध्ययन गर्नुपर्ने देखिन्छ । सामाजिक तथा आर्थिक रूपमा आएको परिवर्तनसँगसँगै नेपालको कृषि क्षेत्रमा दिनप्रतिदिन महिलाकरण बढ्दो छ । परम्परागत रूपमा रहेको पुरुषप्रधान कृषि कामको जिम्मा एकाएक महिलाको काँधमा आइपुगेको छ । तर महिलामैत्री नीति, संस्थागत संरचना र अनुकूल प्रविधि नहुँदा यो कृषि कर्मको भूमिकामा आएको फेरबदल महिला किसानका लागि अवसरको रूपमा भन्दा पनि झन बोझिलो हुँदै गएको देखिन्छ । 

सामाजिक तथा आर्थिक परिवेशमा आएको फेरबदलसँगै खेतीपातीमा महिलाको बढ्दो संलग्नतालाई रणनैतिक तवरमा सम्बोधन गर्दै महत्वपूर्ण निर्णयमा उनीहरुको सहभागिता र पहुँच बढाउन सकिएमा कृषिकर्ममा समर्पित महिलाको उद्यमशीलता साथै समग्र सामाजिक र आर्थिक विकासका लागि कृषिकर्मको महिलाकरण महत्वपूर्ण अवसर हुन सक्ने देखिन्छ । नेपालको ग्रामीण क्षेत्रमा व्यापक रूपमा भइरहेको सामाजिक तथा आर्थिक परिवर्तनसँगै आएको फेरबदलका विविध कारणमध्ये बढ्दो सहरीकरण, घट्दो उत्पादनशील जमिन, कृषिबाट अर्थ तथा श्रमको लगानी भन्दा कम उत्पादन र बढ्दो नगदको आवश्यकता आदि पर्दछन् । प्रत्येक परिवारलाई दैनिक उपभोग्य वस्तु विशेषगरी खाद्य लगायत शिक्षा र स्वास्थ्यमा नगदको आवश्यकता पर्दछ ।

यस्तो नगद व्यवस्थापन गर्न प्रायजसो परिवारले वैदेशिक रोजगारीलाई मुख्य स्रोत बनाएका छन् । वि.सं. २०६८ को तथ्यांकअनुसार वैदेशिक रोजगारीको आम्दानीको लगभग ७९ प्रतिशत रकम खाद्यमा जाने गरेको छ । श्रमको हिसाबले योग्य मुख्यगरी पुरुषहरू सहरी र वैदेशिक रोजगारीको खोजीमा बाहिरिने क्रमसँगै जोडिएको वैदेशिक भुक्तानी, ग्रामीण जनजीवन र जीविकोपार्जनको परिवर्तनको मुख्य कारकका रूपमा देखा परेको छ । वैदेशिक भुक्तानी घरले प्राप्त गर्दछ तर यसको मोटो हिस्सा उपभोग्य वस्तुहरूः खाना, लत्ताकपडा र अन्य उपभोग्य वस्तुमा जाने गरेको छ । वैदेशिक भुक्तानीले ग्रामीण समुदायको नगद तथा उपभोग्य वस्तुमा परनिर्भरता, शहर र बजारमाथि पहुँच तथा भौतिक विकासमा वृद्धि गराएको छ । पुरुषहरू विशेषगरी युवा रोजगारीका लागि शहर पस्ने तथा बिदेसिने क्रम बढेको छ विश्वव्यापी रूपमा नै बढेको छ । नेपालबाट पनि यसरी बिदेसिनेको संख्यामा वृद्धि हुँदा युवावर्ग विशेषगरी पुरुषको जनसंख्या ग्रामीण क्षेत्रमा दिनप्रतिदिन घटिरहेको छ । 

यसको प्रभाव मुख्यत: खेतीपातीमा परेको छ । अहिले पनि ग्रामीण क्षेत्रका धेरै घरपरिवारको घरायसी आम्दानी र रोजगारीको मुख्य स्रोत भनेको कृषि नै हो । कुल जनसंख्याको ६५.७ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । तर हालको बढ्दो युवा बाहिरिने क्रमले कृषि पेशामा संलग्न हुनेको संख्या दिनप्रतिदिन घट्दै गएको छ– जसले गर्दा महिलामा कृषि कर्मको थप जिम्मेवारी थपिएको छ । एक दशक लामो माओवादी जनयुद्धमा युवाको सहभागिता या गाउँबाट द्वन्द्वको डरले भाग्नुले पनि नेपाली कृषि कर्मको महिलाकरण हुनुमा थप भूमिका खेलेको छ । हुन त इतिहासदेखि नै कृषिमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ । आफ्नो घरवरिपरि अन्न तथा अन्य बोटबिरुवाको रेखदेख तथा व्यवस्थापन गर्दै सुरु भएको खेती प्रणाली आधुनिक कृषि विकासको अवधारणामा परिणत भएको हो । यो परम्परागत मानवश्रममा आधारित कृषिबाट रूपान्तरण हँुदै औद्योगिक कृषिको रूपमा विकसित हुँदैछ । 

महिलाबाट सुरु भएको कृषि बिस्तारै विभिन्न जनावर र कृषि औजार, मेसिन, प्रविधिको विकाससँगै पुरुषको भूमिका महत्वपूर्ण बन्दै गयो। अहिले त कृषि कर्मको स्वामित्व र अधिकार पुरुष केन्द्रित मात्र हुन पुगेको छ यसको अर्थ महिलाले थोरैमात्र काम गर्दछन् या उनीहरूको भूमिका छैन भन्ने भने पक्कै हैन झन्डै तीन दशकअघि गरिएको अध्ययनले नेपाली महिलाको भूमिका कृषि उत्पादनका श्रम तथा व्यवस्थापनका दुवै काममा महत्वपूर्ण रहेको देखाएको छ । 

९० प्रतिशत नेपालीको मुख्य पेशा नै पूर्ण रूपमा कृषि रहेको अवस्थामा र अहिले कृषि पेशामा संलग्न हुनेको संख्या घटेर (६५.६) प्रतिशत पुग्दा समेत कृषि उत्पादन सम्बन्धी काममा महिलाको भूमिका महत्वपूर्ण रहेको र अझै बढ्दै गएको छ । कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा सन २०१० मा ७२.८% महिला र ६०.२% पुरुष कृषि कार्यमा संलग्न थिए ९ःयब्ऋ द्दण्ज्ञण्० । पुरुष बाहिरिएको घरपरिवारको हकमा भने कृषि पूर्ण रूपमा परिवारको महिला सदस्यमा निर्भर बनिसकेको छ– जसले महिलालाई पहिले गरिरहेभन्दा बढी भूमिका निर्वाह गर्न बाध्य गराएको छ । खेतीपातीबाट आम्दानीको तुलनामा लागत बढेपछि आजभोलि जीविकोपार्जनका अन्य अवसरको खोजी गर्ने क्रम निरन्तर बढिरहेको छ। 

यसरी बाहिरिने क्रममा अझै बढावा दिने कारणमा कृषिबाट हुने आम्दानी घरायसी खर्च चलाउन पर्याप्त नहुनु पनि हो । यो क्रम नेपाल लगायत अन्य देश जस्तै भारत, चीन, बंगलादेश, थाइल्याण्ड आदि देशमा पनि बढिरहेको छ । परम्परागत रूपमा रहेको जमिनमा आधारित जीविकोपार्जन बिस्तारै उद्योग, सेवा तथा व्यापारिक क्षेत्रमा बिस्तार भइरहेको छ ।  भूमण्डलीकरण र यातायात तथा सञ्चारमा भएको विकासले मानिसलाई उत्तम जीविकाको खोजीमा आफ्नो देशभन्दा बाहिर अस्थायी र स्थायी दुवै रूपमा जान सहज बनाएको छ । 

वि.सं. २०७० साउन देखि २०७१ असार मसान्त भित्र मात्रै औपचारिक रूपमै वैदेशिक रोजगार विभागले ५,२७,८१४ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । श्रमयोग्य युवा पुरुषको जम्मा जनसंख्यामध्ये एक तिहाइ अहिले पनि वैदेशिक रोजगारीमा गएका छन् । नेपालबाट ४० लाखभन्दा बढी युवा बाहिरिएको र दैनिक १५०० युवा खाडी मुलुकमा जाने गरेका छन् । बसाइसराइसँगै विश्वभरि नै बदलिदो सामाजिक र आर्थिक परिवेशमा वैदेशिक रोजगारीबाट प्राप्त हुने भुक्तानीले महत्वपूर्ण भूमिका खेलेको छ । यसरी प्राप्त रकमले मुख्यतया विकासोन्मुख देशको शिक्षा, स्वास्थ्य र विकासका कामलाई बढावा दिएको छ। स्थानीय रूपमा काम गर्नुभन्दा वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

एक तथ्यांकअनुसार ५६ % घरले वैदेशिक रोजगारबाट भुक्तानी प्राप्त गर्दछ । त्यसैगरी राष्ट्रिय स्तरमा पनि वैदेशिक भुक्तानीको कुल गार्हस्थ्य उत्पादनमा हिस्सा एक तिहाइभन्दा बढी छ । त्यसैगरी दक्षिण एसियामा नेपाल नै सबैभन्दा बढी वैदेशिक भुक्तानी भित्र्याउने देश हो भने विश्वमा तेस्रो ठूलो वैदेशिक भुक्तानीको कुल गार्हस्थ्य उत्पादनमा योगदान रहेको मुलुकमा पर्दछ । समग्रमा माथि उल्लेखित विभिन्न अध्ययनले कृषिमा महिलाकरणका कारण र प्रभावको मोटामोटी लेखाजोखा गरेका छन् । यस अध्ययनले माथि उल्लेखित सवाललाई आधार बनाउँदै महिलाकरणका कारण र प्रभावको विस्तृत अध्ययन तथा विश्लेषण गर्ने प्रयास गरेको छ ।  

अध्ययन विधि र प्रक्रिया 

यो अध्ययनमा महिला सशक्तीकरणलाई सैद्धान्तिक तथा अवधारणागत विश्लेषणको आधार बनाइएको छ । सामान्यतया सशक्तीकरणलाई विविध साँस्कृतिक र सामाजिक तथा राजनैतिक परिवेशअनुसार फरक अर्थमा बुझ्न सकिए पनि यस लेखका लेखिकाद्वय सशक्तीकरण भनेको व्यक्तिको क्षमता, जीविकोपार्जनका आधारको वृद्धि भई उनीहरुको जीवनमा प्रभाव पार्ने संस्था तथा क्रियाकलापमा भाग लिने, सम्झौता गर्ने र त्यसमा आफ्नो पहुँच बढाउने कुरा हो भन्नेमा विश्वास राख्छन् । 

नेपालमा महिलाकरण भइरहेको सन्दर्भमा महिलाले खेतीपातीको काममा महत्वपूर्ण भूमिका खेलिरहेका छन्– जसले गर्दा उनीहरुको कार्यबोझ बढ्नुका साथै आर्थिक क्रियाकलाप लगायतका अन्य महत्वपूर्ण कुरामा सहभागिता तथा निर्णयमा पहुँच, कृषि उत्पादनका स्रोतमाथिको स्वामित्व र पहुँचजस्ता कुरामा परिवर्तन आएको छ । यस लेखमा महिलाको सशक्तीकरणमा महिलाकरणको प्रक्रियाले पु¥याएको तथा पु¥याउन सक्ने योगदान तथा उनीहरुलाई परेको अप्ठ्यारोको विश्लेषण गर्ने प्रयास गरिएको छ । 

यो अध्ययनमा मिश्रित अनुसन्धान विधि अपनाइएको छ । यस अध्ययनमा मात्रात्मक तथा गुणात्मक दुवै किसिमका तथ्यांक संकलन गरिएको छ । यसका लागि नेपालको सामाजिक, साँस्कृतिक तथा भौगोलिक प्रतिनिधित्व हुनेगरी नौवटा जिल्ला (काभे्र, रसुवा, लमजुङ, अर्घाखाँची, उदयपुर, बैतडी, डडेलधुरा, कैलाली र सुर्खेत)का विभिन्न गाउँमा घरधुरी सर्वेक्षण, समूह छलफल तथा जानकारसँगको अन्तर्वार्ता साथै विगतका वर्षमा यस विषयमा गरिएका अध्ययनको स्रोत सामग्रीको समीक्षा गरिएको हो । यस अध्ययनको उद्देश्य अनुरूप विगतमा भएका अध्ययनको समीक्षा गरी अनुसन्धानका प्रश्न तथा जानकारीका सूचक तयार पारियो । यसका साथै अध्ययनको प्रश्नावली परीक्षण गर्दा देखिएका सुधार गर्नुपर्ने पक्षलाई ध्यानमा राखेर प्रश्नावलीमा सुधार गरियो । माथि उल्लेखित जिल्ला भित्रका प्रतिनिधिमूलक गाउँको छनौट गरी २२३ किसानको घरधुरी सर्वेक्षण, १६ समूहगत छलफल र १४ जानकारसँगको अन्तर्वार्ताबाट यो अध्ययनका लागि आवश्यक प्रारम्भिक सूचना तथा तथ्यांकहरु संकलन गरिएको हो ।

बाँकी आर्काे अंशमा........