काठमाडौं – वास्तावमा कौशी खेती एउटा सानो रुपमा गरीने श्रम हो । यो सानो श्रमले ठुलो श्रम गर्ने तर्फ पनि व्यक्तिलाई लैजान सक्छ । यसले एउटा विचारको जन्म गराउँछ । कामले काम जन्माउँछ । विचारले विचार जन्माउँछ । सिर्जनाले सिर्जना जन्माउँछ । कैशी खेती ठिक त्यसमा आधारित छ । यस्ता सानो कुराहरु, श्रमहरुबाटै समाजमा वैज्ञानिकहरु जन्मान्छन् । ठूला विचारहरु जन्मान्छन् । ठूला उद्योगहरु जन्मान्छन् । आउनुस पालुङ्गो र चम्सुर खेती कौशीमा कसरी गर्ने वारे जानकारी लिऔं । 

पालुङ्गो र चम्सुर नेपाली समाजमा लोकप्रिय सागहरु मध्येमा यो पनि पर्दछ । हामीले कौशीमा गमलामै खेती गरेर पनि चम्सुर र पालुङ्गोको आवश्यकता पुरा गर्न सकिन्छ । यसको खेती गर्न पनि सजिलो छ । 

लागाउने समय

यसको खेती काठमाडौं उपत्यकामा भदौं, असोज, कात्र्तिक, मंशिर, पुष, माघ, फागुन र चैतसम्म गर्न सकिन्छ ।  मध्य पहाडमा पनि साउन, भदौ, असोज, कात्र्तिक, मंशिर, पुष, माघ, फागुन र चैत सम्म गर्न सकिन्छ । यस्तैगरी तराईमा कात्र्तिक, मंशिर, पुष माघ र फागुनमा गर्न सकिन्छ । 
जातहरु
स्थानिय जातहरु लगाउन सकिन्छ । 
आवश्यक सामाग्री
–    गमला २० वटा
–    माटो १२ बोरा
–    मल ६ बोरा
–    बिउ पालुङ्ग ५०० ग्राम
–    बिउ चम्सुर ५०० ग्राम
–    पानी आवश्यकता अनुसार
–    कुटो १ वटा
–    हजारी १ वटा

खेती गर्ने तरिका

माटो, मलको मिश्रणलाई गमालमा भर्ने पानी दिने र ४/५ दिन त्यतिकै राख्ने । यसरी राख्नाले माटोमा भएका ढुसी तथा साना मसिना किराहरु समेत मर्ने हुन्छ । यसपछि फेरी खोस्रेर पालुङ्गो र चम्सुरको बिउ छर्ने । छुट्टाछुट्टै गमालामा बीउ छर्नु पर्ने हुन्छ । एउटा गमलामा २० ग्राम जति बीउ ४० से.मी. मुख भएको गमलामा चारैतिर पर्ने गरी छर्नु पर्छ । यसलाई गोडमेल गर्न त्यति आवश्यक पर्दैन । 

बाली संरक्षण

गोडमेल गर्न पर्दैन तर चम्सुर र पालुङ्गो भित्र उम्रने झारपात भने झीकेर फ्याक्नु पर्दछ । उम्रेको १५–२० दिन पछि नै चम्सुर र पालुङ्गोको अग्लो बोटबाट पातहरु झिकेर वा उखेलेर खान सकिन्छ । यसरी उखेलेर खादा बाँकी रहेका विरुवाहरु सप्रने र छिटो बढ्ने संभावना हुन्छ । 

रासायनिक मल र विषादी

यो प्रकृतिक रुपमा गरिने हुनाले रासायनिक मल र विषादी प्रयोग नगर्ने । यसो गर्नाले एकातिर केही पैसा बचत गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न पनि रोग तथा किरालाई प्राकृतिक रुपमै व्यवास्थापन गर्नु पर्दछ ।