परिचय :
काठमाडौं – अकबरे खुर्सनीको माग अहिले नेपालमा अत्यन्तै उच्च मात्रामा छ । अकबरे खुर्सानीको वार्षिक देखि बहु वर्ष (५–६) वर्ष सम्म खेती गर्न सकिन्छ । नेपालका मध्य पहाडी क्षेत्रहरूमा यसको उत्पादन गरेको पाइए पनि प्राय जसो पूर्वाञ्चलका पहाडी भागहरूमा मात्र व्यावसायिक उत्पादन गर्न थालिएको पाइन्छ । अन्य भागहरूमा भने आफै उपभोग गर्नका लागि मात्र खुर्सानी उत्पादन गर्ने गरेको पाइन्छ । बजार मूल्य अन्य पिरो खुर्सानीको भन्दा अकबरे खुर्सानीको हरियो र सुकेको दुवै राम्रो मूल्यमा बिक्री भइरहेको पाइन्छ । नेपालमा यसलाई विभिन्न ठाउँ अनुसार डल्ले, ज्यानमारा, रागे र अकबरे खुर्सानीका रूपमा चिनिन्छ ।
विशेष गरेर पश्चिमाञ्चल क्षेत्रहरूमा डल्ले र ज्यानमारा खुर्सानीका रूपमा चिनिन्छ भने पूर्वाञ्चल क्षेत्रका पहाडी भेगहरूमा अकबरे खुर्सानीका रूपमा चिनिन्छ । हाल सम्मको आँकडा अनुसार नेपालको इलाम जिल्लामा मात्र यसको व्यावसायिक खेती गरेको पाइन्छ र यहाँ उत्पादित सुकेको अकबरे खुर्सानी केही मात्रामा भए पनि भारततर्फ निकासी भएको पाइन्छ । अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए”, “सि” लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज तत्वहरू तथा अन्य पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् ।
वितरण :
खुर्सानी खेती नेपालको तराई देखि मध्य पहाडसम्म सफलता पूर्वक गर्न सकिन्छ । नेपालको लागि वर्सेनि ७२,००० टन खुर्सानीको आवश्यकता पर्दछ तथा वर्सेनि भारतबाट हरियो खुर्सानी रु १३ करोड र सुकेको रु ३५ करोडसम्मको आयात हुने गरेको पाइन्छ । नेपालमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती पूर्वाञ्चलको इलाम, तेह्रथुम र भोजपुरमा गरेको पाइन्छ भने कृषकहरूले निजी प्रयोग र जिल्लाभित्र खपतको लागि भने खोटाङ, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गालगायतका जिल्लाहरूमा केही उत्पादन गरेको पाइन्छ । यस का अतिरिक्त मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलका मध्य पहाडी जिल्लाहरूमा आफैले उपभोग गर्नको लागि मात्र केही बोट लगाएको पाइन्छ ।
प्रयोग :
खुर्सानीको पाकेको फलमा Capsaicin भन्ने रसायन पाइन्छ र यसलाई औषधि बनाउन प्रयोग गरिन्छ । फल धेरै पिरो हुने हुँदा यसको मीठो महकले खानाको रुचि बढाउँछ । नेपाललगायत भारतमा यसको प्रयोग मसलाको रूपमा गरिन्छ । यसलाई औद्योगिक कच्चा पदार्थको रूपमा पनि प्रंयोग गर्न सकिन्छ । यसको पाकेको फलबाट अचार, Sauces, Ketchup, Essence, Oleoresin र अन्य नेपाली परिकारहरू बनाउन सकिन्छ ।
जातीय पहिचान वा वानस्पतिक विवरण :
यसको वैज्ञानिक नाम Capsicum annum L हो भने यो Solanaceae परिवारभित्र पर्दछ । अकबरे खुर्सानी हालसम्म उन्मोचन भएको छैन । त्यसैले स्थानीय जातकै रूपमा प्रयोग गर्दै आएको पाइन्छ । अकबरे खुर्सानीको बोट २ मिटरसम्म अग्लो भएको पाइन्छ । हाँगाहरू चारैतिर बराबर रूपमा फैलिई छाताको रूप लिन्छ । हरेक पातको काप बाट फुल फुल्दछ । यसका पातहरू नरम, अन्य पिरो खुर्सानीको भन्दा ठूला तथा गाढा हरिया रंगका हुन्छन् । नयाँ बोटका पातहरू ठूला, चौडा र गाडा हरियो हुन्छन् । पुराना बोटहरूका पात भने पहिलो वर्षको जस्तो सल्र्लक्क परेको भने हुँदैनन् तथा केही साना पनि हुन्छन् । पुरानो बोटका पातहरू हल्का गुचमुच्च भाइरस लागेको जस्तो हरियोबाट फिक्का हरियो रंगमा परिवर्तन भएको हुन्छ । फुल अन्य खुर्सानीकै जस्तो सेतो हुन्छ । फुल र फल तल तिर झुण्डिएर फुल्ने–फल्ने गर्दछन् । फलहरू विविध आकार तथा प्रकारका पाइन्छन् । नयाँ बोटको शुरुका पातहरूको लम्बाइ १८ से.मि., चौडाइ १३ से.मि.सम्मको र पुरानो बोटको पातको चौडाइ ३–४ से.मि. र लम्बाइ ७–८ से.मि.सम्मको पाइएको छ ।
माटो :
पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नुपर्दछ र सिंचाइको प्रबन्ध राम्रो हुनुपर्दछ । खुर्सानीको लागि माटोको पी.एच ५.५ देखि ६.५ को हुनुपर्दछ ।
हावापानी :
अकबरे खुर्सानीको खेती गर्मी र न्यानो मौसममा हुने बाली हो । तुषारो नपर्ने र न्यूनतम तापक्रम ५ डि.से. भन्दा तल नजाने ठाउँमा हिउँदे बालीको रूपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से.को बीचमा खुर्सानीको वृद्घि र विकास राम्रो हुन्छ । तर ३५ से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि. से. भन्दा कममा फलको आकार बिग्रन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।
बाली लगाउने समय :
अकवरे खुर्सानीको खेती गर्ने समय चैत्रबाट शुरु गरेर बैशाष जेठसम्म गर्न सकिन्छ । १ हजार मिटर भन्दा माथि चैतमै खेती शुरु गर्नु पर्छ भने १ हजार भन्दा कमको उचाईमा भने जेठसम्म पनि खेती गर्न सकिन्छ ।
बीउ दर :
एक रोपनीको लागि ५० देखि ७५ ग्रामसम्म बीउको आवश्यकता पर्दछ छिप्पिएका हाँगाबाट कटिङ लिएर पनि बेर्ना तयार पार्न सकिन्छ । पुराना बोटका हाँगाहरू काँटछाँट गर्दा निस्कने हाँगाबिँगाहरूबाट कटिङ बनाई बेर्ना तयार पार्न सकिन्छ । कटिङ गर्दा दुईवटा गाँठोसहितका टुक्रा तयार पार्ने । कटिङ तयार पार्दा जमिनमुनि गाड्ने भाग छड्के पार्ने र जमिनबाहिर राख्ने भाग मुठार्ने र रोप्नुभन्दा अगाडि चययतभह पाउडर हल्का रूपमा लगाई छड्के पारी रोप्ने ।
मलखादको मात्रा :
सके सम्म अर्गानिक मल साथै आधा मात्र युरिया र अरू सम्पूर्ण मल जग्गा तयार गर्दा राख्ने र बाँकी युरियालाई २ भाग गरी बिरुवा रोपेको १८ देखि २१ दिनमा पहिलो पटक र ३५ – ४० दिनको फरकमा अर्को पटक गरी दुई पटक हरेक बोटको वरिपरि औँठी आकारबाट ५ सेमि गहिरो कुलेसो बनाई मल दिने र माटोले पुरी सिंचाइ गरिदिनुपर्छ ।
जग्गाको तयारी :
२ – ३ पटक राम्रोसँग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नुपर्छ । माटो चिम्टाइलो भएमा पानीको निकासको व्यवस्था मिलाउनुपर्छ । जग्गा तयार भएपछि माथि उल्लेखित मलहरू बराबरसँग छरी माटोमा राम्रोसँग मिलाउनुपर्छ । बेमौसमी उत्पादनका लागि भने वर्षाको मौसममा खेती गरिने भएकोले वर्षाको पानीबाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लास्टिकको छानो बनाउनु आवश्यक पर्दछ । वर्षाको चिस्यानबाट जोगाउन जमिनको सतहभन्दा ३० से.मि. अग्लो ब्याड बनाउनुपर्छ । प्लास्टिकको छानो लगाई टहरो बनाउँदा लम्बाइ १० मिटर लामो र चौडाइ ५ मिटरको वा पहाड र मधेसको जमिनको अवस्था हेरी सानो–ठूलो बनाउनुपर्दछ । बहु–वर्षीय उत्पादन गर्नको लागि वर्षामा सकेसम्म पानी नजम्ने ठाउँ हेरी लगाउने र केही गरी जम्ने ठाउँ पर्न गएको खण्डमा ३० से.मि. उच्चा ड्याङ बनाई लगाउने र हिउँदमा तुषारो पर्ने ठाउँ भएमा छाप्रोका साथमा फेदको वरिपरि झारपातको छाप्रो पनि दिनुपर्दछ ।
१. कम्पोस्ट १ (के.जी.)
२. डी.ए.पी. १० प्रतिबोट (ग्राम)
३. पोटास ५ (ग्राम)
४. युरिया १० (ग्राम)
५. जिंक १ (ग्राम)
६. बोरेक्स १ (ग्राम)
यी सबै मल बेर्ना सार्नुभन्दा ७–८ दिन पहिले जमिन तयार गर्ने बेलामा हरेक बेर्नाका लागि (१ फिट ह १ फिट ह १ फिट) १ घन फिटको खाल्डो बनाई माटोमा मिसाएर खाल्डो भर्ने । मल दिएपछि माटो सुख्खा छ भने हल्का सिंचाइ गर्ने ।
रोप्ने दूरी :
- मौसमी उत्पादनका लागि (फागुन–असार)
- हार देखि हारको दूरी – ६० से.मि.
- बोट देखि बोटको दूरी – ३० से.मि. (हिउँदमा) र ४५ से.मि. (वर्षामा)
- बेमौसमी उत्पादनका लागि (असार – कात्तिक)
- हार देखि हारको दूरी – ८० से.मि.
- बोट देखि बोटको दूरी – ६० से.मि.
- बहु–बर्षीय उत्पादनको लागि (४ – ५ वर्षसम्म)
- हार देखि हारको दूरी – १५० से.मि.
- बोट देखि बोटको दूरी – १५० से.मि.
बेर्ना रोप्ने तरिका :
जरा र पातहरू धेरै र स्वस्थ बिरुवा छानेर बेलुकीपख सार्नुपर्दछ । बेर्ना सार्दा नर्सरीमा छँदा माटोमुनि रहेको भाग जति मात्र जमिनमुनि पर्ने गरेर सार्ने । बेर्ना सारेपछि लगातार ५ दिनसम्म हजारीले बिरुवाको वरिपरि पर्ने गरी पानी दनुपर्छ । माथि दिएको दूरी बमोजिम लगाएमा वर्षा र हिउँदे मौसम वा सिजन गरेर २००० देखि ३००० गोटासम्म प्रति रोपनीको लागि बेर्नाको आवश्यकता पर्दछ ।
टपड्रेसिङ गर्ने (गोडमेल र सिंचाइ) :
बेर्ना सारेको २५ दिनपछि हल्का गोडमेल गरी बोटको वरिपरि औंठी आकारबाट ५ से.मि. गहिरो कुलेसो बनाई युरिया मलले पहिलो पटक टपड्रेस गर्ने र माटोले पुरी हल्का उकेरा दिई सिंचाइ गरिदिनुपर्छ । पहिलो टपड्रेसिङगरेको २५ दिन वा बेर्ना सारेको ५० दिनपछि दोस्रो पटक गोडेर माथि झै युरिया मल दिई राम्रोसँग उकेरा दिनुपर्दछ । हिउँदमा १० – १५ दिनमा र गर्मीमा ७ – १० दिनको फरकमा वा जमिनमा चिस्यानको अवस्था हेरी आवश्यक मात्रामा सिंचाइ गर्ने ।
फल टिप्न थालेपछि प्रत्येक टिपाइ अथवा कम्तीमा २ पटक फल टिपेपछि गाईभैंसीको गहुँत संकलन गरी एक भाग ५ भागमा पानी मिसाई हरेक बोटले ५०–१०० एम. एल.का दरले पाउने गरी बोटको वरिपरि दिने र इस्प्रे गर्दा राम्रो हुन्छ ।
थाँक्रो दिने :
बहुवर्षीय बालीको रूपमा खेती गर्न यसलाई थाँक्राको आवश्यकता पर्दछ । यसलाई थाँक्रो दिन बिरुवाको वरिपरि गोलाकार रूपमा बोटबाट दुई फिट परबाट दुई फिटको दूरीमा घोंचा गाडी त्यसमा तेर्सा भाटाहरू उचाइअनुसार आवश्यकताबमोजिम राखी बाँधिदिएमा बहुवर्षीय रूपमा उत्पादन गर्न सजिलो हुन्छ । तर पहिलो वर्ष भने बोट होंचो हुने हुनाले थाँक्रोको आवश्यकता पर्दैन ।
छाप्रो हाल्ने :
अकबरे खुर्सानीले तुषारो अलिकति पनि खप्न सक्दैन । त्यसैले अलि उच्च पहाडी क्षेत्रहरूमा हिउँदमा तुषारो पर्ने भएकोले सोबाट जोगाउन उक्त समय आउनुभन्दा अगावै प्लास्टिकको वा खरको छानो हालिदिएको खण्डमा तुषारोबाट पनि बाली बँच्छ र अर्को वर्ष चाँडै र धेरै उत्पादनसमेत दिन्छ ।
सिंचाइ
हिउँदमा धेरै सुख्खा भएमा खुर्सानीको बोट प्रायः मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पु¥याई समय–समयमा सिंचाइ गरी फेदको वरिपरि विशेष गरी धान वा परालको छापो हाल्न सकेमा पनि बिरुवालाई मर्नबाट जोगाउन सकिन्छ । थोपा सिंचाइ प्रविधि अपनाउन सकिएमा झनै राम्रो हुन्छ ।
0 comment