– शुसिला चौधरी

काठमाडौं – कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर दाङ्ग देउखरीकी गीतादेवी थापाले १४ वर्ष अघि बाब आमाले विदेश जाने केटा रोजेर विवाह गरिदिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘पैसा बिना भोकै मरिन्छ । 

विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’ गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सोही निवासी चन्द्रप्रकाश केसीसंग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्काको अधिया खेती गरेर जसोतसो परिवारको गर्जो टादै आइन् । समय बित्दै गयो, विदेश गएका उनका श्रीमान चन्द्रप्रकाश एक्कासी बिरामी भएर घर फर्के ।  

गीतादेवीलाई पहिले विवाह गर्दा सोचेको र विवाहपछिको अवस्थामा पूरै फरक अनुभूति भयो । उनले मनमनै चिन्तन मनन गर्थिन्, ‘सोचेजस्तो हुन्न रहेछ जीवन ।’ त्यो बेला गीतादेवीको घरको अवस्था आर्थिक रुपमा दयनीय थियो । समाजमा धन सम्पत्ति र पैसालाई सफलताको सूचक मान्नेको सामु गीतादेवीको आर्थिक अवस्था कमजोर भएकाले गर्दा आफन्त र गाउँलेले पनि हेपाहा व्यवहार गर्थे ।  

अर्काको अधिया खेती गर्दै परिवार धान्दै आएकी गीतादेवीले आर्थिक समस्या केही हदसम्म टार्ने सोचले दुईवटा बाख्रा पालेकी थिइन् । त्यही पनि मरे । उनका ससुरा बुवा धामी झाक्रीको काम गर्ने भएको हुँदा उनले बाख्रा छुदैनथे । कष्टकर ढंगले गुजारा टार्दै संघर्ष गर्दै गीतादेवी अघि बढ्दै गइन् । उनका श्रीमान चन्द्रप्रकाश पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सम्हालिँदै फेरि विदेश आवत जावत गर्न थाले ।

गीतादेवीलाई आर्थिक समस्याको छटपटी भइरहेको बेला उनले व्यवसायिक रुपमै वाख्रा पालन गर्ने निधो गरिन् । शुरुवातमा चारवटा लोकल बाख्रा पालनबाट सुरु गरेकी गीतादेवीसंग अहिले ७६ वटा बाख्रासहित खसी र बोका छन् । बाख्रासहित खसी र बोका थप्दै जादा बोयर जातका दुईवटा पाठा र एउटा बोका अस्ट्रेलियाबाट खरीद गरेर ल्याइन् । अनि, विस्तार लोकल पनि थप्दै गइन् ।  

यतिबेला उनकोमा बोयर जातका बाख्रासँगै खसी र बोका छन् । लोकल जातका बाख्रा बोयर बोकाको बिउ प्रयोग गरेर क्रस गरेका पाठापाठी पनि उत्पादन हुन्छन् गितादेवीको फार्ममा । बोयर जातका बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ । प्रायः सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोयर बाख्राले  धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुन्छन् ।

त्यो भन्दा पनि चाख लाग्दो कुरा बोयरको पाठापाठी एकदमै छिटो बढ्छन् । बोयरको बोका वा खसी प्रतिगोटा दुई लाख रूपैयाँसम्म बिक्री हुन्छन् ।  गीतादेवीलाई श्रीमान चन्द्रप्रकाशले पूरै काममा सघाउँछन् । ‘बाख्रा पालन गर्ने क्रममा अस्ट्रेलियाबाट पाठा र बोका ल्याउँदा गाउँलेले हामीलाई बौलाए भन्ने गर्थे,’ गीतादेवीले भनिन्, ‘अहिले भने गाउँलेले हाम्रो प्रशंसा गर्छन् ।’  

गीतादेवीका श्रीमान चन्द्रप्रकाश सल्यानबाट २०६५ सालमा दाङ्गको सतवरियामा बसाई सरेका थिए । पहाडबाट झरेपछि गीतादेवीको चन्द्रप्रकाशसँग विवाह भएको थियो । परिवारले पहाडको पुर्ख्यौली सम्पत्ति बिक्री गर्दा डेढ कट्ठा जग्गा खरीद गरेर सामान्य घर बनाएर बसे । अहिले पनि त्यही घर छँदैछ । गीतादेवीका ससुराबुबाको २०७१ सालमा क्यान्सर रोग लागेर निधन भयो । ससुराबुवाको उपचारका लागि पनि ठूलै रकम खर्च भयो । त्यो खर्च पनि ऋण गरेर टारिएको थियो ।  
गीतोदवी यतिबेला बाख्रापालनबाट आर्थिक उन्नति गर्नेमा ढुक्क छिन् । ‘अहिलेसम्म जे जति लगानी गरेर फर्म यहाँसम्म ल्याई पु¥यायौं, अब भने हामीले आम्दानी गर्ने चरणमा छौं,’ उनले भनिन्, ‘मासु पारखीको संख्या बढीरहेका गर्दा खसी वा बोका बिक्री नहुने कुनै समस्या नै छैन ।’ तीन विघा जग्गा लिजमा ल्याएर खसी बाख्राका लागि उनले घाँस पनि लगाएका छिन् ।  

गीतादेवीजस्तै, लालमटिया वडा नं. ६ कै इन्दिरा कार्कीले एक वर्षदेखि बाख्रा पालन थालेकी छन् । उनकोमा यतिबेला १३ वटा बाख्रा र खसी छन् । उनको नेतृत्वमा महिलाहरुले दुर्गाश्वरी पशुपालक समूह बनाएर बाख्रा पालन अभियान नै थालेका छन् । महिलाहरु गाउँमा फुर्सदिला भएपछि समूह बनाएर बाख्रा पालन थालेको इन्दिराले बताइन् । उनको समूहमा २५ जना महिला छन् ।  

यस क्षेत्रका महिलाले अगुवाई गरेर अभियानकै रुपमा थालेका हुन् । स्थानीय एलिसा तिम्सिनाको खेतमा केरा खेती लगाउने गर्थिन् । तर, यतिबेला केरा खेती रोग लागेर नास भएपछि बाख्रा नै पालन थालेकी छन् । ‘केरा खेती रोग लागेर सखाप भएपछि बाख्रा पालन थाल्यौं,’ एलिसाले भनिन्, ‘भर्खरैदेखि पाल्न थालेका हौं, अहिले बाखा र खसी गरेर १५ वटा पुगेका छन् ।’ बाख्रा पालनका लागि आफ्नो भएको केही जग्गा र लिजमा लिएर घाँसको बिउ उत्पादन गर्ने गरेकी छन् । जसले गर्दा घाँसको कुनै समस्या छैन ।

सोही ठाउँकी आशा कार्की पनि आफूलाईं केही गर्ने इच्छा पहिलेदेखि भएर बाख्रा पालन थालेकी छन् । आशाले भनिन्, ‘पहिला एक÷दुईवटा पाल्ने गर्थे, अहिले समूहमा आवद्ध भएपछि १४ वटा पालेको छु ।’ काममा व्यस्त हुँदा जीउँ पनि फूर्तिलो हुने र आम्दानी पनि हुने भएपछि हौसला मिल्ने गरेको अनुभव सुनाइन् ।  
त्यसो त गरीखान सक्ने उमेरका मात्र होइन, रिटायर्ड जीवन बिताउनुपर्ने उमेरका पनि बाख्रा पाल्दै आएका छन् । लालमटिया वार्ड नं. ६ कै लक्ष्मीदेवी तिम्सिना उमेरले ७६ वर्ष पुगिन् । जोसिलो भएर बाख्रा पालन गर्दै आएकी छन् । बिहान उठेदेखि खसी÷बाख्रालाई घाँस काट्न र चराउनमै दैनिकी बित्ने गर्छ । ‘सकुन्जेल त छोराबुहारीको आशा गर्नु भएन नि,’ उनले भनिन्, ‘दुईवटा छोराछोरी अलगै गरिखान थालेका छन् । एउटा छोरा घरमा छैनन् अनि हामी बुढाबुढी त जसरी पनि गरीखान त प¥यो नि ?’

सतवरियाको थुप्रै बस्तीमा यतिबेला घरै पिच्छे बाख्रा पाल्न थालेका छन् । विशेषगरी, वडा नं. ६ मा महिलाहरुले नेतृत्व गरेर दुईवटा अलग अलग समूह बनाएर खरो प्रतिस्पर्धा गरी बाख्रा पालन गर्न थालेका छन् । यहाँ एउटा दुर्गाश्वरी पशुपालन कृषक समूह र अर्को देउखरी महिला कृषक समूह छ । दुर्गाश्वरीको नेतृत्व इन्दिरा कार्की र देउखरी कृषक समूहको नेतृत्व ललिता चौधरीले गरेकी छन् ।  

दुर्गाश्वरी कृषक समूहले खसी बाख्राका लागि सबैले आआफ्नो जग्गामा घाँस लगाएका छन् भने गोदावरीले भने सिद्दार्थ सामुदायिक वनको १५ विघा क्षेत्रफलमा घाँस लगाएको सचिव पवित्रा श्रेष्ठले बताइन् । सामुदायिक वन क्षेत्रको जग्गाा बाख्रा पाल्ने महिला समूहले किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी जातका घाँसखेती लगाएका छन् । ‘महिलाहरु समूहमा आवद्ध भएको छोटो समयमै आत्मनिर्भर हुन थालेका छन्,’ देउखरी कृषक समूहका सचिव श्रेष्ठले भनिन् । यसरी सतवरियाका महिलाले समूह बनाएर बाख्रा पालन थालेसँगै आर्थिक हैसियत बढेको छ । सामाजिक इज्जत पनि बढेको छ । यहाँका महिलाका निम्ति पैसाका लागि अरुको भर पर्नु पर्दैन। बजारमा मासुको मूल्य वृद्धि हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा परनिर्भर रहने यहाँका महिला अहिले घर-घरमा बाख्रा पालन गरेर आत्मनिर्भर बन्दैछन् ।