लिपिका कर्माचार्य,


पृथ्वीको सृष्टि ५ अरब बर्ष पहिले भएको अनुमान गरिन्छ । पृथ्वी परिपरि वायुमण्डलमा प्राकृतिक रुपमै हरितगृह ग्याँसहरु फैलिरहेको हुन्छ । जसले पृथ्वीलाई कम्बल ओढेको जस्तो न्यानो बनाई राख्न मद्दत गर्दछ । तर आज मानव सिर्जित विकृतिले गर्दा हरितगृह ग्याँसहरुको मात्रा चाहिने भन्दा बढी भएको छ । हरित गृह ग्याँस बढी हुँदा यसले सूर्यबाट आएको प्रकाश या तापलाई पृथ्वीमा आउन दिने तर पृथ्वीलाई आवश्यक नपर्ने ताप फर्कने क्रममा वायुमण्डलबाट वाहिर जान नदिई  पुनः उक्त तापलाई पृथ्वीमै फर्काउने गरेकोले नै आज पृथ्वीको तापक्रम बढेको हो जुन प्रक्रियालाई हरित गृह प्रभाव भनिन्छ ।


कार्बनडाइअक्साइड बाहेक मिथेन, ओजोन, नाइट्रस अक्साइड पृथ्वीको वाफ वा जलकण तथा  हालोकर्बनहरु आदिलाई नै हामी हरित गृह प्रभाव भनिन्छ । 


कुनै पनि प्राकृतिक स्थानको हावापानीको गुण, ताप, गति वा अवस्था परिवर्तनको छोटो अवधिको चक्रलाई हामी मौसम भन्दछौं । तापक्रम, पानी तथा हावाको आद्रतामा आएको घटबढलाई मौसम परिवर्तन  भन्दछौं । यो घटबढ हुने प्रक्रिया नियमित भएता पनि हाल भईरहेको घटबढ अकल्पनीय, अपयारीलो, अनपेक्षित हुँदा जलवायु परिवर्तनमा सबैको ध्यान केन्द्रित भएको छ । 


साधारण भाषामा भन्नु पर्दा समयको अनतरालमा मौसमको औसत अवस्थामा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्न सक्छौं । यो एक प्राकृतिक प्रक्रिया हो तर हरित गृह वायुको बढ्दो उत्सर्जनले गर्दा परिस्थितिकीय प्रणालीमा अनिश्चिता ल्याएको छ ।


जलवायु परिवर्तनको प्रमुख कारण पृथ्वीको जल, थल, बायु  र आकाशको तापमानमा बृद्धि हुनु हो । अनि  तापमान वृद्धिको मुख्य कारण भने  वायुमण्डलमा हरित गृह वायुको मात्रा बढ्नाले  हो । मानिसले खपत  गर्ने वनजन्य तथा खनिजजन्य इन्धनको अत्याधिक बृद्धितथा वन क्षेत्रको ह्रास नै हरितगृत वायु बढ्नुको मूल कारण हो । 


सेल्सियमको तापमापन मापदण्ड अनुसार, शून्य डिग्रीमा पानी जमेर वरफमा परिणत हुन्छ । पृथ्वी ताप्ने क्रमको पहिलो असर हिमालयमा पर्दछ । अर्थात् सबैभन्दा पहिले हिमालयको वरफ पग्लन थाल्दछ । त्यसैले हिमालयलाई जलवायु परिवर्तनको व्यारोमिटर पनि भनिन्छ । 


जमेर बसेको हिउँ तापक्रम बढ्न थालेपछि पग्लिएर झर्छ र पहिरोको रुप लिन्छ । हिमाली क्षेत्रमा विश्वकै छिटो तापक्रम बृद्धि भईरहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी मञ्चको प्रतिवेदनमा उल्लेख गरिएको छ । सगरमाथा क्षेत्रमा हिउँ पग्लिएर हिमनदी बन्ने क्रम समेत बढेको छ । यसरी जलवायु परिवर्तनबाट नेपालका हिमालहरु बढी जोखिममा रहने क्रममा २०७१ बैशाख ५ गते विहानै सगरमाथा आरोहण मार्गमा हिम पहिरो गएको छ । 


यस अघि सन् १९७० र १९९६ मा  पनि सगरमाथा क्षेत्रमा हिम पहिलो गएको थियो । सन् १९७० मा ६ नेपाली पथप्रदर्शकको र १९९६ मा ८ आरोहीको ज्यान गएको थियो । वि.सं. २०६९ को असोजको पहिलो सातामा मनास्लुमा गएको हिमपहिरोमा पनि मानवीय क्षति भएको थियो ।


हिमाल आरोहण गर्ने समयमा भएको दुर्घटना सगरमाथा क्षेत्रमा भएको अहिले सम्मकै ठूूलो दुर्घटना हो । त्यसैले पर्यटन प्रबद्र्धन गर्न हाम्रा हिमालको जोखिमता बारे अध्ययन, अनुसन्धान गर्न निक्कै नै जरुरी भैसकेको छ । 


जलवायु परिवर्तनले संसार भरि नै आफ्नो प्रभावहरु देखाउन थालिसकेको छ । त्यस्ता प्रभावहरुबाट बच्न र बचाउन विभिन्न उपायहरु उपनाउन सक्छौ । जलवायु परिवर्तन सँगै पृथ्वी तात्ने क्रम बढ्दै गएको तथ्यलाई विश्वले नै स्वीकार गरिसकेको छ । पृथ्वी उष्णीकरणमा कार्बन डाइअक्साइड लगायतका हरित गृह वायुहरु जिम्मेवार भएकाले त्यस्तो हानिकारक वायुको न्यूनीकरण गर्नु नै सबैभन्दा  भरपर्दो उपाय हो । 


जलवायु परिवर्तनको मार अर्थात् नकारात्मक असरबाट कुनै पनि राष्ट्र अछुतो रहन नसक्ने भएता पनि यसको असर सबैभन्दा पहिले अविकसित मुलुक र त्यहाँका बासिन्दालाई पर्ने हुन्छ । नेपाल जस्तो भरखरै मात्र आर्थिक भौतिक उन्नतिमा अग्रसर राष्ट्र भएकाले हानिकारक वायुको उत्सर्जनमा योगदान नरहेको हो भन्न सकिन्छ । तर पृथ्वीको तापक्रम बृद्धिको असर हाम्र्रै हिमालयमा देखिएको छ । जसले गर्दा हिमाली क्षेत्रको निम्ती मात्र नभएर उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरुका लागि समेत चिन्ता र चासोको अवस्था सिर्जना भएको छ । त्यसैले पूर्व सूचना प्रणाली, सतर्कता, पूर्व तयारीका साथै घट्ना व्यवस्थापन गरी जनधनको क्षति  कम गर्न सकिन्छ ।