काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताउनुभएको छ । 

आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्नुभयो ।

रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको उहाँको भनाइ थियो ।

उहाँले क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको पनि बताउनुभयो ।

यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ ।

मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतमदेखि अधिकतमसम्म रेटिङ प्रदान गर्ने गरिन्छ । 

रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाका लगायतका विवरण र तथ्याङ्कको विश्लेषण गरिएको थियो ।