काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले संस्थाविरुद्ध जानेलाई कारबाही गर्ने भएको छ।

क्यानको सुर्खेतमा भएको केन्द्रीय साधारण सभाले विधान विपरीत संघलाई बदनाम र निलम्वन गराउने उद्देश्यले विभिन्न क्रियाकलाप भइरहेकोप्रति खेद प्रकट गर्दै संघविरुद्ध जानेलाई कारबाही गर्ने भएको हो।

साधारण सभाले केन्द्रीय सदस्य सञ्जयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्न केन्द्रीय समितिलाई अख्तियारी दिएको छ। चित्त बुझ्दो जवाफ नआए उनीहरूलाई निलम्वन गर्ने अधिकार पनि साधारणसभाले दिएको छ।

साधारणसभाको निर्णयबारे जानकारी दिँदै क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, 'कार्यसमिति सदस्यले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकारअनुसार काम नगर्ने, कार्यसमिति बैठकमा उपस्थित नहुने, संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामासमेत उपस्थित नभएर बाहिर संस्थाविरुद्ध गतिविधि गर्न कसैलाई पनि छुट छैन। त्यसैले क्यानको केन्द्रीय समितिले उहाँहरुलाई अविलम्व स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआएमा निलम्वनसमेतको कारवाही गर्न हामी बाध्य भएका छौँ।'

साधारणसभाले बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात र काठमाडौं जिल्ला क्रिकेट संघलाईसमेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बस्न्यातले फागुन १४ गते नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका थिए भने काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय साधारणसभामा प्रतिनिधि पठाएको थिएन।

यस्तै क्यानले नेपाल टी-२० लिग क्रिकेट प्रतियोगीताको मुख्य साझेदार भारतको सेभेन-थ्री स्पोट्र्स प्रालिसँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए। उनका अनुसार साधारणसभाले पहिलो संस्करण आयोजना हुँदाको सम्झौताअनुसार सेभेन–थ्रीले दिनुपर्ने भुक्तानी रकम असुल उपर गर्न  केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरेको छ। 

नेपाल टी-२० लिगको कर्मसीयल र रणनीतिक साझेदार भारतको सेभेन-थ्री स्पोट्र्स प्रालिसँग २०७९ पुस ७ गते भएको सम्झौताअनुसार कार्य नगरेकाले सम्झौता रद्ध गर्ने निर्णय गरिएको छ। 

नेपाल टी–२० लिगको पहिलो संस्करणका दौरानमा स्पट फिक्सिङमासमेत कम्पनीका सञ्चालक जतिन आह्लुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको देखिएकाले आठौं संस्करणसम्मका लागि भएको सम्झौता रद्ध गर्ने निर्णय गरिएको हो।

नेपाल क्रिकेट संघलगायतलाई भुक्तानी गर्न बाँकी रहेको वक्यौता रकम असुल उपर गर्न आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउन पनि केन्द्रीय कार्यसमितिलाई साधारणसभाले जिम्मेवारी दिएको छ। 

क्यानका केन्द्रीय सदस्य पदमबहादुर खड्काले भने, 'भारतीय कम्पनी सेभेन-थ्री स्पोट्र्स प्रालिबीच आठ संस्करणको सम्झौता भएको थियो। क्यानले २०८० साउनभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने भएको छ।